नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध यति प्रगाढ छ कि उनीहरूको आफ्नै पार्टीका कोही नेतासँग यति विश्वासिलो सम्बन्ध सायदै होला ।
प्रचण्ड र नेपालले एकअर्कासँग नसोधी कुनै पनि राजनीतिक ‘मूभ’ लिँदैनन् । कुनै बेला एकअर्कालाई देख्न पनि नचाहने अवस्था भएका यी नेताबीच अहिलेको मोह कुनै बेलाको आक्रोश र द्वन्द्व बिर्साउने खालको छ ।
माओवादी सशस्त्र द्वन्द्वमा हुँदादेखि नै नेपाल र प्रचण्डको सम्बन्ध बलियो बनेको थियो । २०५८ सालपछाडि माओवादीको सशस्त्र संघर्ष चरमोत्कर्षमा थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गतेपछि अधिनायकवादी शासनको अभ्यास थालेका थिए । दलहरूलाई राजनीतिक भूमिकाविहीन बनाइएको थियो । माओवादीले उत्कर्षमा पुर्याएको सशस्त्र संघर्ष व्यवस्थापनमा राजनीतिक दलहरूले उपाय दिन सकेका थिएनन् । प्रत्यक्ष शासन गरिरहेका ज्ञानेन्द्र माओवादीमाथि बल प्रयोग गरेर दबाउने रणनीतिमा थिए, माओवादीलाई आतंककारी घोषणा गरिएको थियो ।
त्यसबेला जसले माओवादीसँग सम्पर्क राख्यो, त्यो आतंककारीको मतियार कहलिन्थ्यो र कानूनी कारबाहीको भागिदार हुन्थ्यो । त्यस्तो अवस्थामा माधवकुमार नेपालले पार्टीमा आन्तरिक रूपमा निर्णय गराएर भूमिगत रहेका प्रचण्डलाई भेट्न पार्टीका नेताहरू वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाए ।