७५ वर्षपछि समावेशी बन्दै कांग्रेस

नेतृत्वमा पनि पुग्लान् त महिला ?

नेपाल खबर

काठमाडौं

लोकतान्त्रिक राजनीतिको विरासत बोकेको नेपाली कांग्रेसको नेतृत्वमा महिला कहिले पुग्लान्? आसन्न १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसभित्र नेतृत्व सम्हाल्न सक्ने महिलाका बारेमा उति चर्चा हुन्न, पदाधिकारीकै लागि भनेर महिला नेताहरूको त्यति दौड देखिएको छैन पनि। 

तर स्थापनाको ७५ वर्ष पार गर्दै गरेको कांग्रेसले आउँदो १४ औं महाधिवेशनबाट अहिलेसम्मकै सबैभन्दा धेरै महिला प्रतिनिधित्व भने गराउँदैछ।  विधान संशाेधन गरेरै सो पार्टीले कांग्रेसका हरेक निकायमा कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व अनिवार्य गरेसँगै महिलाहरूलाई नेतृत्वमा उक्लिने पनि बाटो खुलेको हो। 

मुलुकको संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागितालाई अनिवार्य गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनले दलका सबै तहमा महिला प्रतिनिधित्व एक तिहाइ हुनुपर्ने व्यवस्था पनि गरेको छ। 

तर, संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले राजनीतिक दलसम्बन्धी ऐनले व्यवस्था गरेको प्रावधान भने लत्याउँदै आएका छन्। प्रमुख राजनीतिक दलहरूका मौजुदा केन्द्रीय कार्यसमितिमा दलसम्बन्धी ऐनले व्यवस्था गरेअनुसार महिला सहभागिता देखिदैन।

यद्यपि,सत्तारुढ नेपाली कांग्रेसको आसन्न महाधिवेशनबाट भने कांग्रेसका केन्द्रीय कार्यसमितिदेखि तल्लो तहका विभिन्न काय समितिहरूमा महिलाको सहभागिता दलसम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार सुनिश्चित हुने निश्चित जस्तै छ। 

प्रकाशित मिति: : 2021-08-04 17:32:00

प्रतिकृया दिनुहोस्