नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाका विषयमा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन्।
‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ’, उनले भने।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै नेता श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ को संलग्नता रहेको बताए।
उनले एसएसबीले तुइनको तार काटिदिएका कारण धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएका हुन्।
श्रेष्ठले भने, ‘भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट धामी महाकाली नदीमा बेपत्ता भएका हुन्।' उनले घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्।
नेता श्रेष्ठले नेपाल सरकारले छानबिन समिति गठन गरेर परिपक्व कूटनीतिक समाधान गरे पनि पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए।