प्रहरी प्रधान कार्यालयले लिएको युएन शान्ति मिसनको परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको खुलासा भएको छ।
प्रधान कार्यालयले गत साउन १५ र १६ गते दुई चरणमा शान्ति मिसन जाने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकको परीक्षा लिएको थियो। शनिबार बिहान लिन लागिएको परीक्षाअगावै राति प्रश्नपत्र ‘लिक’ भएको थियो।
अपराध अनुसन्धान विभागले प्रश्नपत्र बाहिरिएको थाहा पाएलगत्तै परीक्षा रद्द गरेर नयाँ प्रश्नपत्र बनाई डेढ घण्टापछि परीक्षा सुरु भएको प्रधान कार्यालयले जनाएको छ।
प्रहरी स्रोतका अनुसार प्रधान कार्यालयबाट साइबर ब्यूरो सरुवा भएका कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको थियो। उनीसँगै प्रश्नपत्र लिक गरको आशंकामा युएन शाखामा कार्यरत कार्यालय सहयोगी शुरेश बमलाई नियन्त्रमा लिइएको छ।
उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ। यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जनाकारी दिएका छन्। उनका अनुसार विशिष्ट श्रेणीका अधिकृतको नेतृत्वमा समिति बनाएर अनुसन्धान भइरहेको छ।
परीक्षा हुनभन्दा अघि प्रश्नपत्र एकजना डीएसपीको घरमै पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार ती डीएसपीले ल्याण्ड लाइन नम्बर ०१–४४१०५९९ मार्फत युएन शाखामा फोन गरेर प्रश्न पत्र मगाएका थिए। त्यसपछि प्रश्नपत्र ती डीएसपीको घरमै पुगेको थियो। ती डीएसपीसहित ८ जना परीक्षार्थीले परीक्षा सुरु हुनअगावै पश्नपत्र पाएका थिए।
प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो। परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए।