महिलामाथिको दुर्व्यवहार र विभेद अन्त्यको थालनी संघीय संसदबाटै गरौँ : विन्दा पाण्डे (भिडियो)

प्रतिनिधि सभा सदस्य रहेकी एमाले नेतृ विन्दा पाण्डेले संघीय संसदबाटै माहिलामाथि हुने लैंगिक हिंसा, दुर्व्यवहार र विभेदको कुसंस्कार अन्त्यको थालनी गर्नुपर्ने बताएकी छिन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले शीर्षतहमा रहेका महिलामाथि समेत दुर्व्यवहार हुने गरेको बताइन्। उनले भनिन्, 'शीर्षतहमा रहेका महिलामाथि समेत दुर्व्यवहार गरिन्छ भने समाजको तल्लो तहमा रहेका महिलामाथि हिंसा र दुर्व्यवहारको अवस्था झन् कष्टकर हुन्छ। दुर्व्यवहारको अन्त्यको सुरुवात संघीय संसद्बाटै हुनुपर्छ।' 

'राष्ट्रपतिमाथि बार्सिएका अमर्यादित लाञ्छनाहरुले समाजको सिंगो तहमा के सन्देश दिन्छ ?’ नेतृ पाण्डेले भनिन्, 'शीर्ष तहमा रहेको महिलामाथि समेत दुर्व्यवहार गरिन्छ भने समाजको तल्लो पिँधमा रहेका महिलामाथि भएका हिंसा र दुर्व्यवहारको अवस्था के होला ?’ 

उनले राजनीतिक आन्दोलनमा भिड्दै गर्दा महिलाले गरेको अपेक्षाअनुसार लोकतान्त्रिक प्रणाली स्थापित भएको तर विभेद र दुर्व्यवहार अन्त्य नभएको बताइन्। 

नेतृ पाण्डेले संविधानले अनुमति दिएको हदसम्म लैंगिक विभेद नहुने गरी संसदमा रहेको विधेकलाई यथाशीघ्र अघि बढाउनसमेत सभामुखसमक्ष माग गरिन्। 

'आज हाम्रोजस्तो पितृसत्तात्मक समाजमा एक जना विधवा नारीको जीवन कति कष्टकर हुन्छ, हामीले परिवार र समाजमा देखेका छौं,’ नेत्री पाण्डेले भनिन्, 'उनीहरुमाथि वैवाहिक अवस्था र यौनिकताको आधारमा कस्ता हिंसा, विभेद र दु्र्व्यवहार गरिन्छ भन्ने कुरामा हामी अनभिज्ञ छैनौं।’

प्रकाशित मिति: : 2021-08-03 16:41:00

प्रतिकृया दिनुहोस्