प्रधानमन्त्रीजी, ‘खोप, खोप, खोप’ भन्ने तपाईंको समय अब सुरु भएको छ: योगेश भट्टराई (भिडियो)

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोरोनाविरुद्धको खोप अभियान सुस्त भएकोमा असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप, खोप, खोप’ भनेर आफ्ना तीनवटा प्राथमिकतामा रहेको बताए पनि त्यसअनुसार काम हुन नसकेको बताए।

ताप्लेजुङको वरिष्ठ अहेव लक्ष्मी वनेमले ९ घण्टामा ९४० जनालाई खोप लगाएको भन्ने समाचार उद्धृत गर्दै उनले भने, ‘यो धेरै सुखद् समाचार हो, तर तथ्याङ्क यस्तो मात्र छैन।’

पूर्वमन्त्री समेत रहेका एमाले नेता भट्टराईले ६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले पूर्ण खोप पाएको, १४ प्रतिशतले पहिलो मात्राको खोप पाएको र देशका १६ हजार खोप केन्द्रमध्ये तीन हजार खोप केन्द्र मात्रै परिचालित रहेको बताए।

१०औँ हजार स्वास्थ्यकर्मी नै खोप लगाउनबाट विमुख रहेको भन्दै उनले भने, 'यस्तो अवस्थामा असोज महिनाभित्र सबै खोप लगाउँछु भन्ने मन्त्रीको घोषणा र ‘खोप, खोप, खोप’ भन्ने प्रधानमन्त्रीका प्राथमिकता लागू हुने सम्भावना देखिँदैन। त्यसैले सम्माननीय प्रधानमन्त्रीजी, कोरोनाको रोकथाम र नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन, शङ्काको लाभ छैन र तपाईंको समय अब सुरु भएको छ।’

प्रकाशित मिति: : 2021-08-03 14:28:00

प्रतिकृया दिनुहोस्