नेपाल र राणा शासन दुवै कमजोर भएका वेला भारतसँग सन् १९५० मा गरिएको शान्ति तथा मैत्री सन्धि नेपालका लागि अहितकर, असान्दर्भिक र असमान रहेको आवाज उठ्दै आए पनि पुनरावलोकन हुन सकेको छैन।
१६ साउन २००७ (३१ जुलाई १९५०) मा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि हुनुभन्दा आठ महीना अघि १९४९ डिसेम्बरमा प्रधानमन्त्री मोहन शमशेर जबरालाई भारतीय समकक्षी जवाहरलाल नेहरूले औपचारिक भ्रमणको निमन्त्रणा पठाए। मोहन शमशेरले निमन्त्रणा स्विकारे पनि २१ तोपको सलामी पाउने सुनिश्चितता नभएसम्म भारत भ्रमणमा नजाने सन्देश भारतका लागि नेपाली राजदूत सिंह शमशेरमार्फत पठाए। जब कि, त्यतिवेला राष्ट्राध्यक्षलाई २१ र प्रधानमन्त्रीलाई भने १९ तोपको सलामी दिने चलन थियो।
भ्रमण नै नहुने देखेपछि स्वतन्त्र भारतका शक्तिशाली प्रधानमन्त्री नेहरू मोहन शमशेरका लागि प्रचलित चलन तोड्न तयार भए। इतिहासकार प्रमोद शमशेर राणाका अनुसार, भारतीय समकक्षी नेहरूले २१ तोपको सलामी सम्मान दिने पक्का गरेपछि बल्ल ७ फागुन २००६ मा रेलमार्गबाट मोहन शमशेर भारत गए। “दिल्लीमा महाराजलाई भारत सरकारले ठूलो स्वागत र सम्मान गर्यो” इतिहासकार राणाले आफ्नो पुस्तक राणाशासनको वृत्तान्तमा लेखेका छन्, “प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूसँग भेटवार्ता हुँदा नेपालको राजनीतिक परिस्थिति र प्रस्तावित मैत्री सन्धिका बारेमा पटक–पटक छलफल भयो।”