नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन्।
माधव समूहका सांसद मेटमणि चौधरीले यसबारे जानकारी दिदै आफ्नो समूहले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको बताएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले केही समयमै ६ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको बताए। अहिले आफ्नै समूहभित्र यसबारे छलफल चलिरहेको जानकारी दिदै उनले ढिलो-चाँडो सरकारमा सहभागी हुने बताए।
पार्टी विवादको कुनै पूर्णविराम नभएको भन्दै चौधरीले भने, 'यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने र केपी ओली नै एमालेको अध्यक्ष भैराख्ने हो भने हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ।'
आफ्नो समूहका सांसदहरुबीच सरकारमा सहभागी हुने एकमत भएको जानकारी दिदै उनले थपे, 'पार्टी विवादले गर्दा मात्रै सरकारमा सहभागी हुन अफ्ठ्यारो भएको हो। तर ढुक्क हुनुस्, ६ वरपरको संख्यामा मन्त्रालयको नेतृत्व गर्ने गरी सरकारमा सहभागी हुन्छौ। यसो भन्दैमा हामीले यति नै मन्त्रालय चाहियो चाहीँ भनेका छैनाैं।'