न जसपा हातमा, न राजपाः के गर्लान् महन्थ?

नेपाल खबर

काठमाडौँ

सागर न्यौपाने

राजनीतिक जीवनको उत्तरार्धमा पुगेर महन्थ ठाकुर अहिले दलविहीन छन्। उनले चाहँदा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा)मा बस्न त सक्छन्, तर अहिले त्यो उनको चाहना होइन। त्यसैले पुरानो पार्टी राजपाको विरासत छाडेर जसपा बनाएका ठाकुर बिलखबन्दमा छ। यद्यपि, नयाँ पार्टी खोल्ने तयारी गरिरहेको ठाकुर समूहका नेताहरु बताउँछन्।

साउन ११ गते निर्वाचन आयोगले गरेको ‘हेड–काउन्ट’मा अध्यक्ष उपेन्द्र यादव पक्षमा दुई तिहाइ केन्द्रीय कार्यकारिणी सदस्य खुलेपछि अध्यक्ष ठाकुर पक्षले जसपाको नाम र चुनाव चिन्ह गुमाएको हो।

अब नयाँ पार्टी दर्ता गर्ने कि निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका नाम लिएर जाने भन्ने एक हप्तामा टुंगो लाग्ने ठाकुरपक्षीय नेता सर्वेन्द्रनाथ शुक्लाले बताए। 

‘निर्वाचन आयोगको निर्णयपछि हामी नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भनेर पार्टीमा छलफलमै छौंँ,’ शुक्लाले नेपालखबरसँग भने, ‘अर्काे हप्तासम्म निर्णय गरिसक्छौँ।’

‘अहिलेसम्म साथीहरुले आयोगमा दर्ता भएका सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) वा अरु कुनै नयाँ नाम दर्ता गरेर जान सुझाउनुभएको छ,’ शुक्लाले थपे, ‘त्यसका लागि हाम्रो कार्यकारिणी समितिका साथीहरुसँग छलफल गर्छौँ।’ 

निर्वाचन आयोग स्रोतका अनुसार राजपा नाम असार २५ गते नै एक व्यक्तिले दर्ता गरिसकेका छन्। उता राजपाको चुनाव चिन्ह पनि नेपाल सद्भावना पार्टीले लिन निवेदन दिइसकेको छ। 

प्रकाशित मिति: : 2021-07-28 21:40:00

प्रतिकृया दिनुहोस्