पब्जीको कुलत : रातिराति ठोक्, हान् भन्थे, पछि थाहा भयो बालक समस्यामा रहेछन्

शिलापत्र

काठमाडौँ

 नवराज कुँवर

 

भक्तपुर सूर्यविनायककी सुनिता थापा आफ्नो १२ वर्षीय छोरा रोमनको आनीबानीमा एक्कासि आएको परिवर्तन देखेर बिस्मित छिन् । शारीरिक तथा मानसिक परिवर्तनको उमेर भएकाले छोराको व्यवहारमा केही अदलीबदली आएको हुनसक्ने उनकाे सुरुवाती अनुमान थियो । 

तर, दैनन्दिन रोमनलाई एकोहोरो, जिद्दी, झगडालु भएको देखेपछि सुनिताको मनमा चिसो पस्यो । छोराको बानीव्यवहार अस्वाभाविक लाग्न थालेसँगै उनले निगरानी बढाइन् । रोमनमा एकाएक देखिएकाे बदलावकाे कारण चाल पाइन्, अनलाइन गेम पब्जी ।

‘७/८ वर्षको उमेरदेखि नै यो (रोमन) छुट्टै कोठामा सुत्थ्यो । पहिलोपल्ट लकडाउन भएयता स्कुल लागेको छैन । कक्षा अनलाइनबाटै चलिराखेको छ । खाना खानेबित्तिकै आफ्नो कोठामा छिरेर चुकुल लगाएर बस्छ’, रोमनलाई लिएर चाबहिलस्थित मार्क नेपाल मनोसेवा केन्द्र आइपुगेकी सुनिताले भनिन्, ‘ल्यापटपमा अनलाइन क्लास भइरहेको बेलासमेत यो (छाेराे) मोबाइलमा पब्जी खेल्दै बस्दो रहेछ । राति हान्, मार्, ठोक् भन्दै कराउँछ ।’ सुतेका बेलासमेत रोमन भर्भराउने गरेको सुनिता बताउँछिन् । 

यति मात्र होइन, बोलाउँदा झर्किने । सम्झाउँदा झम्टिने । परिवारमाझ बसेर कुराकानी गर्नै नमान्ने । पढ्न मन नगर्ने । बाहिर निस्कँदा छिमेकका बच्चासँग झगडा गर्ने । रोमनमा यस्ता समस्याकाे बिस्कुन देखिएको सुनिता सुनाउँछिन् । ‘पहिले पढाइमा तेज थियो । अहिले बुद्धु बनिसक्यो । खाना पनि राम्रोसित खाँदैन । यी हेर्नु त, खिइएर सकिन लाग्यो’, छोरालाई देखाउँदै सुनिताले सुर्ता जाहेर गरिन्, ‘नखेल् भनेको मान्दै मान्दैन । बुवा हुँदा डराउँथ्यो । मलाई त हेपिहाल्छ ।’ ६ वर्षे भाइ रिदम पनि दाइको सिको गरेर बिग्रिने हो कि भन्ने पीर छ, आमालाई । ५ कक्षामा पढ्ने रोमनका बुवा इजरायलमा केयर गिभर हुन् ।

प्रकाशित मिति: : 2021-07-28 21:33:00

प्रतिकृया दिनुहोस्