अनुषा अधिकारी
सयूज लाल श्रेष्ठ अस्ट्रेलिया बस्छन्। उतै सानो व्यवसाय गरेर बसिरहेका उनलाई नेपालमा व्यवसाय सुरू गर्ने सोच आयो। अनि विदेशमा पाइने उत्पादनहरू नेपाल भित्र्याउने योजना बनाए।
उनले अस्ट्रेलियाको बजारमा साँच्चैका फूलहरूमा रसायन मिसाएर बनेका मोबाइलका खोल, एस्ट्रे, किरिङ र अन्य आकर्षक सामान देखेका थिए। नेपाल हुँदा यी सामान उनले पाएका थिएनन्। त्यसैले यहाँका ग्राहकले रूचाऊलान् भन्ठाने।
यो चार वर्षअघिको कुरा हो।
सुरूमा उनले आफैं फूलबाट त्यस्तै उत्पादन बनाउन खोजे। प्रयास असफल भयो। उनले बुझे- यसनिम्ति उपयुक्त मेसिन र दक्ष कर्मचारी चाहिन्छ।
यी दुवै कुरा यो काम गरिरहेकै ठाउँमा उपलब्ध हुन्थ्यो। यसबारे बुझ्दै जाँदा थाहा भयो, हङकङमा उत्पादन गर्दा सहज हुन्छ।
आफूले खोजेजस्तो उत्पादक भेटेपछि उनले सामान बेच्न अनलाइन ब्रान्ड खोले- खरायो।