एमालेका माधव नेपाल पक्षधर सांसद्काे नेता नेपालमा‍थि दबाब– 'हामी मन्त्री बन्न पाउनुपर्छ'

File photo
File photo

नेकपा (एमाले)का माधव नेपाल समूह सरकारमा सहभागी हुने या नहुनेबारे अझै अन्यौलमै छ।

आज (बुधबार) साहना प्रधान स्मृति प्रतिष्ठानको हलमा भएकाे छलफलमा अधिकांश सांसदहरुले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन्। तर नेता नेपालले भने अझै कुनै ठोस निर्णय लिएका छैनन्।

छलफलमा सहभागी एक नेताका अनुसार नेता नेपालले 'पछि निर्णय गरौंला' भनेर यस विषयलाई नै टारेका छन्। ती नेताले भने, 'नेता नेपालले अझै एउटा निर्णय लिन सक्नु भएको छैन। आजको छलफलमा पनि यसबारे पछि निर्णय गरौंला भनेर टार्नुभयो। सरकारमा सहभागी भएर हामीले पनि मन्त्री बन्न पाउनुपर्छ भन्ने कुरामा २२ जना सांसदहरु एकमत छाैं।'

त्यसाे त, आजै बिहानै सत्तारुढ गठबन्धनको बैठक बसेकाे थियाे। तर बैठकमा नेता नेपाल भने सहभागी भएनन्। बरु उनले आफ्नो समूहबाट प्रतिनिधित्व गर्दै विजय पौडेललाई पठाएका थिए।

बैठकमा गठबन्धन पार्टीका शिर्ष नेताहरुले आज साँझ वा भोलिसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिइसक्ने निष्कर्ष निकालिएकाे थियाे।

उक्त निष्कर्ष अनुसार नेता नेपालले अब कस्ताे निर्णय लिएर अघि बढ्लान् भन्ने सबैकाे चासाेकाे बिषय बनेकाे छ।

यदि नेपाल समूह सरकारमा सहभागी भयाे भने मन्त्री हुने संभावित अनुहारहरुमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ ‘किसान’, धनबहादुर बुढा र भवनीप्रसाद खापुङको नाम सबैभन्दा अगाडि रहेको छ। चौधरी र किसान राज्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-28 17:52:00

प्रतिकृया दिनुहोस्