महेन्द्रनगर : दिनरात आवतजावत गर्ने घर नजिकैको सडकसँग जोडिएको खोल्सोमा जब पानी भरिएर आउँछ, दुर्गा देवीको मन पनि त्यसैत्यसै भरिन्छ। बोटविरूवाले झ्याम्म छोपिएको खोल्साको दृश्य देख्दा उनी अन्धकार महसुस गर्छिन्।
यो साउन महिना दुर्गादेवी सम्झनै चाहन्नन्। त्यो साउनको झरी उनका लागि पीडाको यादमात्र बोकेर आइरहन्छ। २०७५ साल साउन १० गते दिउँसोदेखि नै पानी परिरहेको थियो। खेतमा पानी टिलपिल। खोल्साहरु सबै भरिभराउ। त्यसै दिन हराइकी छोरी खोज्न यही बाटोमा रातभर भौतारिएकी थिइन् उनी।
भोलिपल्ट बिहान खोल्सोको पारिपट्टी १३ वर्षीया छोरी निर्मला पन्त मृत अवस्थामा फेला परेकी थिइन्। त्यसैले दुर्गादेवीलाई अहिले पनि साउनको यो समय र सधैं हिँड्नुपर्ने बाटोले पीडामात्र सम्झाइरहन्छ।
तीन वर्ष भइसक्यो दुर्गादेवीले 'छोरीको हत्यारा खोइ' भन्दै न्याय मागेको। यी तीन वर्षमा दुर्गादेवीको घरका भित्ताका रङ्ग फेरियो तर मनमा जमेको पीडाको तुवालो हट्ने संकेतसमेत पाएकी छैनन्। छोरीको हत्यारा पत्ता नलागेसम्म त्यो हटोस् पनि कसरी?
त्यसैले, प्रश्नहरू केवल सोध्नका लागिमात्रै बनेका हुन जस्तो लाग्न थालेको छ, जबसम्म तिनबाट कुनै जवाफ मिल्दैन भने। जवाफ नपाए पनि दुर्गादेवी पन्त प्रश्नमा अडिग छिन् - न्याय खोइ?
त्यसो त न्यायका लागि उनीप्रति समानुभूति गर्दै घरमा पुग्नेहरु फाट्टफुट्ट आउजाउ गरिरहेकै छन्। यसरी आउनेहरुका जिज्ञासामा जवाफ दिन्छिन् उनी। तर, आफैँ अनुत्तरित छिन् - किन मारिइन् छोरी? अपराधी कहिले पर्छन् जेलमा?