एमाले कर्कलाको पातको पानी होइन, कसैले हात हल्लाउँदैमा पर्लक्क पल्टने : ओली (भिडियाेसिहत)

फाइल तस्वीर
फाइल तस्वीर

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुनियाभरिका शक्ति लगाएर षड्यन्त्र गर्दा पनि आफू नेतृत्वको सरकार  ढाल्न नसकेपछि सर्वोच्च अदालत प्रयोग गरेर हटाइएको आरोप लगाएका छन्। पुष्पलाल स्मृति दिवशको कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

‘सरकार बनेको दिनदेखि ढाल्न कोशिश गरियो, डेढ वर्षदेखि लगातार दुनियाँ लागेर पनि खुट्टा हल्लाउन नसकेपछि, हलचल गराउन नसकेपछि परमादेशबाट हटाइयो,’ ओलीले भने, ‘जनादेशबाट सरकारमा आइयो, हटाउने सबै प्रयाश विफल भयो, अनि परमादेशबाट हामी हट्यौँ।’

अध्यक्ष ओलीले अदालतमाथि जनआस्था भए मात्र लोकतन्त्र बलियो हुने आफ्नो मान्यता रहेको बताए। उनले भने, ‘जनजनको मनमा अदालतमाथि विश्वास होस, तब लोकतन्त्र बलियो हुन्छ। तर, अदालतले जे गरे पनि मान्नैपर्छ भन्यौँ भने विश्वास कायम रहन्छ कि रहँदैन ? यो गम्भीर बिषय हो। न्याय नपाए सर्वोच्च जानू भन्ने धारणा बनोस् भन्ने म चाहन्छु।’

ओलीले अदालतले हटाए पनि एमालेले जनताबाट जितिरहेकोले कसैले हराउन नसक्ने पनि दाबी गरे। ‘एमालेलाई कसैले ढाल्न सक्दैन, जहाँ–जहाँ नेपाली, त्यहाँ–त्यहा एमाले पुग्छ,’ ओलीले भने, 'एमाले सबैभन्दा प्रमुख पार्टी हो, संघीय संसद्मा। स्थानीय तहमा, प्रदेशहरुमा सबभन्दा ठूलो दल एमाले हो, हामीलाई हराउने ल्याकत कसैसँग छैन।’

ओलीले नेपाली कम्युनिष्ट आन्दोलन कर्कलाको पातको पानी नभएको पनि बताए। ‘यो आन्दोलन कर्कलाका पातको पानी होइन, कसैले हात हल्लाउँदैमा पर्लक्क पल्टने। यो आन्दोलन संघर्षको मैदानबाट गुज्रिएर आएको छ।’

प्रकाशित मिति: : 2021-07-22 17:04:00

प्रतिकृया दिनुहोस्