राजा वीरेन्द्रको वंशै नास हुनेगरी गरिएको दरबार हत्याकाण्डपछि राजगद्दीमा उनका भाइ ज्ञानेन्द्र शाह आसिन भए। त्यसको एक वर्ष बित्दा नबित्दै ज्ञानेन्द्रमा दाइ वीरेन्द्रजस्तो ‘निष्क्रिय’ होइन, पिता महेन्द्रजस्तै ‘सक्रिय’ राजा बन्ने ‘महत्वाकांक्षा’ जाग्यो। जतिबेला अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा नै सरकारको नेतृत्वमा थिए। तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री देउवालाई बर्खास्त गर्दै २०५९ असोज १८ गते प्रतिनिधि सभा विघटन गरे। र, प्रधानमन्त्री ‘भर्ना’ प्रक्रिया थाले।
यसविरुद्ध नेपाली कांग्रेससहित एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र सदभावना पार्टी (पाँच दल) आन्दोलनमा होमिए। तर राजा ज्ञानेन्द्रले पुनः शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्ति गरे। जसले गर्दा कांग्रेस फुट्यो, देउवाले आफ्नो नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। जतिबेला मूल कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए। देउवा प्रधानमन्त्री बनेपछि माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एमाले पनि ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सरकारमा सामेल भयो।
हो, त्यही घटना– माधव नेपालको आलोचना गर्ने स्थायी बिम्ब बनेको थियो/छ। यति मात्र होइन, उनका अन्य कतिपय निर्णय पनि स्थिर नहुने भएकाले उनलाई ‘ढुलमुले नेता’ को आरोप पनि लाग्ने गरेको छ।