माधव नेपाल ‘गद्दार’बाट दोस्रो अध्यक्ष !

नयाँ पत्रिका दैनिक

शुरोजंग पाण्डे
Breaknlinks
Breaknlinks

पार्टी निर्णय र निर्देशन उल्लंघन गर्ने माधव नेपाल कम्युनिस्ट आन्दोलनकै गद्दार भएको अभिव्यक्ति दिएको तीन दिनमै एमाले अध्यक्ष केपी ओलीले नेपाललाई दोस्रो अध्यक्षका रूपमा स्वीकार गर्न सकिने बताएका छन्। केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीको दोस्रो अध्यक्ष स्विकारेर भए पनि एकता जोगाउन तयार रहेको दाबी गरेका छन्। 

‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ, अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ। १०बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु। एकता भएमा सबै संरचना २ जेठ ०७५ कै अवस्थाबाट क्रियाशील हुनेछन्,’ ओलीको भनाइ उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘माधव नेपालले मिल्ने हो भनेर दोस्रो अध्यक्ष मागे। मैले भनेको छु– पार्टी एकता बचाउन माधव आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु।’

बैठकमा अध्यक्ष ओलीले पार्टी एकता भए नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार रहेको बताएको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए। ‘अध्यक्षले बिहीबारसम्म केही नयाँ हुँदै छ भन्ने आशा देखाएर सम्बोधन गर्नुभयो, बैठक बुधबार सक्ने भने पनि लम्ब्याइएको छ,’ भट्टराईले ओलीलाई उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘पार्टीको बृहत्तर एकताका लागि हामी अधिकतम लचक हुन तयार छौँ, अहिले दोस्रो अध्यक्ष भए हुन्छ भन्ने पनि कुरा आएको छ, पार्टी हितका निम्ति त्यो कुनै ठूलो कुरा भएन, म उहाँ (माधव नेपाल)लाई मान्न तयार छु।’

 

प्रकाशित मिति: : 2021-07-22 09:55:00

प्रतिकृया दिनुहोस्