यसपालाको ओलम्पिकमा महिला सहभागीको वर्चश्व : लैंगिक सन्तुलनको बन्यो इतिहास

पहिलोपोष्ट

काठमाडौं

इन्टरनेशनल ओलम्पिक कमिटीको प्रचारलाई मान्ने हो भने यसपालिको टोकियो ओलम्पिक लैङ्गिक समानताको 'ल्याण्डमार्क' नै हो र इतिहासकै 'सबैभन्दा लौंगिक सन्तुलित' ओलम्पिक हो।

वास्तवमा ओलम्पिकको इतिहासलाई लैङ्गिक समानताका हिसाबले हेर्ने हो भने खास राम्रो ट्र्याक रेकर्ड भेटिँदैन। १९ औं शताब्दीको अन्त्यमा आधुनिक ओलम्पिक सुरु हुँदै गर्दा महिलाहरु सीमान्तकृत हुन पुगेको बहसहरु चलेका थिए। इन्टरनेशनल ओलम्पिक कमिटीका संस्थापक मध्येका चार्स पिअरे डे कौबर्टिनले ओलम्पिकमा महिलाको सहभागितालाई लिएर भनेका थिए - यो अव्यवाहारिक, अरुचीकर, नसुहाउने, गलत कुरा हो। र, अहिले टोकियो ओलम्पिकसम्म आइपुग्दा आधा सहभागी महिला छन्।

अर्को हप्ताबाट टोकियोमा ओलम्पिक सुरु हुँदैछ। जसमा ४८.८ प्रतिशत प्रतिस्पर्धीहरु महिला हुनेछन्। जुन ओलम्पिकको इतिहासमै सबैभन्दा धेरै हुनेछ। अघिल्लो साल अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा टोकियो ओलम्पिक पहिलो 'जेन्डर ब्यालेन्स्ड' ओलम्पिक हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दावी गरेको थियो।

यसअघि २०१६ को रियो ओलम्पिकमा ४५ प्रतिशत महिलाको सहभागिता रहँदा २०१२ को लण्डन ओलम्पिकमा ४२.२ प्रतिशत महिलाहरुको सहभागिता रहेको थियो।

इतिहासको कुरा गर्ने हो भने सन् १८९६ मा पहिलो आधुनिक ओलम्पिक हुँदा महिलाहरुलाई प्रतिबन्ध लगाइएको थियो। यद्यपि, केही रिपोर्टले भने म्याराथनमा महिलाको सहभागिता रहेको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2021-07-21 07:32:00

प्रतिकृया दिनुहोस्