आवेशपूर्ण राजीनामा : भीम रावल उपचुनाव चाहन्छन् ?

रावललाई बोलाएर सनाखत गराउनै बाँकी

बाह्रखरी

काठमाडौं

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले गएको आइतबार सांसद पदबाट एकाएक राजीनामा दिए। तर, सभामुख अग्निप्रसाद सापकोटाले रावलको राजीनामा स्वीकृतिको प्रक्रिया अझसम्म थालेका छैनन्।

सभामुखले रावललाई डाकेर सनाखत गरी संसद्को अर्को बैठकमा त्यसको सूचना दिएमा उनको सांसद पद रिक्त हुन्छ। तर, सभामुख सापकोटा तत्काल त्यसो गरिहाल्ने ‘मुड’मा देखिएका छैनन्।

“रावलले सभामुखज्यूको हातमै राजीनामापत्र थमाउनुभएको हो, संविधान र कानुनअनुसार सांसदले सभामुखसमक्ष राजीनामा दिएमा सांसद पद रिक्त हुन्छ,” संसद् सचिवालयका एक अधिकारीले भने, “तर, सभामुखले त्यो प्रक्रिया थाल्नुभएको छैन। तत्काल उहाँको राजीनामा स्वीकृत गरिहाल्ने पक्षमा पनि हुनुहुन्न।”

ती अधिकारीका अनुसार सभामुखले रावलको राजीनामा स्वीकृत गर्न चाहेमा रावललाई डाकेर सनाखत गराउनुपर्ने हुन्छ। सनाखत गरेर रावलले ‘मञ्जुर छु’ भन्ने दोहोर्‍याएपछि सभामुखले संसद्को बैठकमा त्यसको जानकारी गराउनुपर्छ। त्यससँगै सांसद पद रिक्त हुन्छ।

त्यसपछि अरु दुईवटा प्रक्रिया बाँकी हुन्छन्। पहिलो, सभामुखले संसद्मा सांसद पद रिक्त भएको सूचना सुनाउनेछन्। त्यो सूचना राजपत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ। राजपत्रमा सूचना प्रकाशित भएसँगै संसद्ले त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने हुन्छ। संसद्को कार्यकाल एक वर्षभन्दा बढी बाँकी रहेकाले रावलको निर्वाचन क्षेत्रमा उपचुनाव गराउनुपर्ने हुन्छ। सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्छ। अनि, रावलको निर्वाचन क्षेत्रमा उपचुनाव गरिन्छ।

प्रकाशित मिति: : 2021-07-20 15:55:00

प्रतिकृया दिनुहोस्