दुब्लो, पातलो शरीर। सधैँ भन्दा फरक हुलियामा थिए, फिल्म निर्देशक मनोज पण्डित। झण्डै दुई महिनापछि शान्तिनगरको एउटा चिया अड्डामा भेट्दा उनी निराश र थकित देखिन्थे। र, त्यो निराशालाई उनले संवाद चलुञ्जेल अनौठोसँग पोखिरहे।
गत पुस पहिलो सातातिर कर्णाली र सुदूरपश्चिम यात्रामा निस्केका थिए, उनी। यात्राबाट फर्किएको केही हप्तासम्म उनलाई उनीभित्रकै ‘लघुताभास’ले थिचिरहेको रहेछ। ‘गाउँ अन्धकारमा छन्, हामीले के योगदान गर्न सक्यौं ?’ उनी अमूर्त कुरा गर्दै भुलिरहेका थिए। चमक हराएको उनको अनुहार हेरेर मैले अनुमान लगाउन सकें।
उनको कर्णाली यात्राबारे जान्ने उत्सुकता थियो। तर यात्राबारे कोट्याउँदै गर्दा पिरोल्दो रहेछ। ‘मैले त्यहाँबाट कथा होइन, व्यथा लिएर आएँ। र, मलाई त्यसैले पोलिरहेको छ,’ पन्छिन खोज्दै मनोजले भने।
उनमा एउटा ‘पागलपन’ छ। त्यही ‘पागलपन’का कारण जोखिम मोलेर ‘ग्रेटर नेपाल’ निर्माण गरे। ‘दासढुंगा’ र ‘वधशाला’ त्यसैका उपज हुन्। ‘उनी यसपालि पनि त्यही ‘पागलपन’ बोकेर हिँडेका हुन्,’ मैले यसरी लख काटेको थिएँ। प्रसंग कोट्याउँदै गर्दा उनले यति खुलाइहाले, ‘म ‘जीवनचक्र’ टेलिसिरियल बनाउन डोटी र मुगु पुगेको थिएँ। सुटिङ सकेर फर्किएँ।’