आप्रवासनको कुरा गर्दा समान्यतया यसलाई विप्रेषणसँग जोडेर हेरिन्छ/बुझिन्छ। आप्रवासीले त निकै कमाउँछन् र आफ्ना परिवार, सामाजको विकासमा सकरात्मक प्रभाव पार्छन्। यो बुझाइ धेरै हदसम्म सही पनि छ। किनकि थुप्रै कारणमध्ये आप्रवासनको एउटा प्रमुख कारण– आफ्नो देशमा भन्दा राम्रो सम्भावना खोजी हो, जसले आर्थिक रूपमा परिवारलाई सबल बनाओस्। यो अनुसन्धानले नै पुष्टि गरेको तथ्य हो।
उसो त आप्रवासन सामाजिक, सांस्कृतिक र राजनीतिक कारणले पनि हुने गर्छ। तर यहाँ चर्चा गर्न खोजिएको आयाम हो– आर्थिक सम्भावनाको खोजीमा विदेशिएको पुस्ता, जसले आफ्नो परिवार मात्र होइन, मुलुककै अर्थतन्त्र धानिरहेको छ। यो नेपालको मात्र नभई एसिया, अफ्रिका, पूर्वी यूरोप र ल्याटिन अमेरिकाका अधिकतर मुलुकको वर्तमान अवस्था हो।
अध्ययनहरूले के पुष्टि गरेका छन् भने कुनै पनि व्यक्तिले घर, गाउँ, देश छाड्नुअघि गन्तव्य मुलुक पनि सकेसम्म आफू जन्मेको/हुर्केको समाज, संस्कृति र खानपान शैलीसँग मेल खाने खोज्छ। तर चाहनाले गन्तव्य मुलुक तथा काम निर्धारण हुने होइन। आप्रवासनको सामाजशास्त्रीय सिद्धान्तअनुसार आप्रवासनको निर्णय धेरै हदसम्म श्रमिकको बाध्यताले निर्धारण गर्छ।। यो स्थिति एउटा परिवार, लिंग तथा जात–विशेषलाई मात्र नभएर समग्र मुलुकका सवालमा पनि लागू हुन्छ। उदाहरणका लागि अविकसित वा अल्पविकसित मुलुकमा अर्थपूर्ण रोजगारीका अवसर खुम्चिँदै जाँदा सबैभन्दा बढी मारमा त्यहाँका श्रमिक वर्ग पर्छन्। किनकि यो वर्गको पहुँच श्रम–बजारमा अरूको भन्दा सबै प्रकारले कम हुन्छ। विकल्प न्यून हुन्छन् र रोजाइभन्दा पनि बाध्यात्मक श्रम स्वीकार्न बाध्य हुन्छ।