बालुवाटारदेखि बार्दलीसम्म...

लोकान्तर

काठमाडौं

मार्टिन लुथर किङले सन् १९६३ अगस्ट महिनाको घमाइलो दिनमा 'आइ ह्याभ द ड्रीम' भन्दै हजारौँ जनताको बीचमा उभिएर सम्बोधन गरेका थिए ।

लुथरले आफूजस्तै अश्वेत रंगका बालबच्चाले गोराहरूका बालबच्चासँगै बसेर स्कूल पढ्न पाउनेछन् भन्ने सपना देखेका थिए। साथै गोराहरूसँगै खेल्ने, सँगै संघर्ष गर्ने र सँगै जेल जाने सपना देखेका थिए। 

मलाई लागेको थियो, बालुवाटारको सरकारी मुकामबाट निस्किएर बालकोटमा रहेको आफ्नै घरको बार्दलीमा पुगेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मार्टिन लुथर किंगले जस्तै कुनै त्यस्तो महान सपनाको कुरा गर्नेछन्, महान संकल्पको सपना सुनाउनेछन् । 

तर उनले त्यसो गरेनन्। बरु उनले आफ्नै पार्टीका सहकर्मी (जो प्रधानमन्त्री पनि भैसकेका छन्) माधव नेपालतर्फ लक्षित गर्दै 'लाज शरम पचेका, देउवासँग हात मिलाउने गद्दार' भनेर निकै निकृष्ट गाली गरे ।

ओलीले बार्दलीमा उभिएर कुनै सपनाको संकल्प गरेनन्। चुच्चे रेल ल्याउन नसकेकोमा कुनै जवाफ दिएनन्। हावाबाट बल्ने बिजुली, पानी जहाज र चुलाचुलामा ग्यास पुर्‍याउन नसकेकोमा माफी पनि मागेनन्।

उनले आफूले नै देखाएका महान सपनाहरू खण्डित भएकोमा आत्मालोचनासम्म पनि गरेनन्। बरु रिसाए, कराए, झर्किए, धम्की दिए, चुनौती दिए। नेपाली जनताका मनमा उठेका हजारौं प्रश्नहरूको जवाफ दिनुपर्नेमा उल्टै प्रश्न नै प्रश्न पो गरे। 

प्रकाशित मिति: : 2021-07-19 14:26:00

प्रतिकृया दिनुहोस्