मेलम्चीको पानी पहिलो पटक धाराबाट खस्दा मेरा एक जना छिमेकीले पूजा नै गरेर खुसियाली मनाए र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरे। तर, त्यो खुसीसँगै टोलमा कसैको घरमा पानी आउने कसैकोमा नआउने पनि भयो। कहाँ के बिग्रिएको हो, सजिलै ठम्याउन नसकिने भएकाले ढलान गरिएको सडक ठाउँठाउँमा भत्काएर हेर्नुपर्ने झन्झट पनि आइलाग्यो।
खानेपानीका लागि बिछ्याइएका पाइप कतिपय ठाउँमा नमिलाइएको र कतिपय ठाउँमा ढलान गर्ने क्रममा कुच्चिएको, फुटेको पाइयो। टोलवासीका लागि त्यो भत्काउने र मर्मत गर्नुपर्दा अनावश्यक खर्च आइपर्ने त छँदै थियो, करिब १५ दिनजति पानी आएपछि अब सुरुङको जाँच र मर्मत गर्नुपर्ने भएकाले मेलम्चीको पानी एक डेढ महिना नआउने रे भन्ने समाचार आयो।
त्यतिसम्म हुँदा त ठीकै थियो, जब असार १ गते मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजार र मेलम्ची खानेपानी आयोजनाको बाँध बगायो भन्ने समाचार आयो, त्यसपछि त अब महिनौँ कहिलेसम्म पर्खनुपर्ने हो, त्यसको अनिश्चिततासहित केही हप्ताअगाडिको खुसी एकाएक गायब भयो।
नेपालमा भूकम्प, भारी वर्षा, बाढी, पहिरो, हिउँपहिरो, हिमताल फुट्दा आउने बाढी, खडेरी, डढेलो, चट्याङ, आगलागीजस्ता प्रकोपहरूको उच्च जोखिम छ। २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण मात्रै झण्डै ९ हजार जनाको ज्यान गयो भने घर, स्कुल सरकारी भवन, बाटो, बाँधलगायतका थुप्रै भौतिक संरचनाहरू भत्किँदा १० खर्ब रुपैयाँभन्दा बढीको क्षति हुन पुग्यो। हाम्रा कमजोर संरचनाका कारण यति ठूलो क्षति हुन गएको हो।