गहिरो निन्द्राबाट भर्खरैमात्रै ब्युँझिएको जस्तो महसुस भएको छ।
वरिपरिका दृष्यहरू सबै धमिला छन्। मुखमा अक्सिजनको पाइप लगाइएको छ।
हातमा स्लाइनपानी र शरीरभरि प्लास्टरले बेरिएको छ।
यसो हात खुट्टा चलाउँछु, बडो मुस्किलले चल्छ। सम्पूर्ण शरीर बेस्सरी दुखिरहेको छ, उठ्ने कोसिस गर्छु। चल्न चटपटाउन पनि सक्दिनँ। मुख खङ्ग्रङ्ग सुकेको छ, बिस्तारै वरिपरि आँखा घुमाउँछु, कोठामा मैजस्ता अरू पनि धेरै बिरामी छन्।
ती सबै देख्दा म अस्पतालमा रहेछु भन्ने लाग्छ। तर कहिलेदेखि र के कारणले यो अवस्थामा यहाँ छु भन्ने कुरा मेरो सम्झनामा आउँदैनन्, शायद अझै पनि म स्मृति शून्य नै छु!
भित्रदेखि डाहा भएर होला, अचानक मेरो मुखबाट 'पानी' भन्ने शब्द निस्कन्छ ! मेरै आवाज सुनेर हुनुपर्छ शायद, एक जना नर्स दौडेर आउँछिन् र खुब आश्चर्यपूर्वक मलाई हेर्छिन्, 'आम्मै तपाईंलाई होस् आयो! कति लामो समय लाग्यो तपाईंको होस आउन पनि !'
उनले स्नेहपूर्वक दुई चम्चा पानीले मेरो ओठ भिजाई दिन्छिन्,'डाक्टरलाई नसोधी धेरै पानी पनि पिउन दिन हुन्न तपाईंलाई, एक छिन पख्नोस् है म डाक्टर बोलाँउछुु' भनेर उनी फेरि दौडिन्छिन् ।