कलेज पढ्दाको कुरा हो, हामीसँगै पढ्ने एक मित्रलाई आफू धन सम्पत्तिले भरिपूर्ण छु भन्ने ठूलो घमण्ड थियो।
वास्तवमा उनी धनी पनि थिए। उनको आमाले निकै धेरै धन–सम्पत्ति दाइजोमा ल्याएको कारण स्वभावत् धनी हुने भइहाल्यो।
उनलाई पैसाको आँडमा जे पनि खरिद गर्न सकिन्छ भन्ने भ्रम थियो। उनी भन्ने पनि गर्थे– मेरो पैसा देख्यो भने जो कोही पछि लाग्छन्।
यही घमण्डले होला, एकदिन कलेजमै उनले आफूसँग अध्ययनरत एउटी महिला मित्रलाई प्रेम प्रस्ताव राखे। तर उनको प्रेम प्रस्तावलाई ती महिला मित्रले ठाडै अस्वीकार गरिन्। उनले आफ्नो प्रस्ताव अस्विकार गर्ने महिलालाई सोधेका पनि थिए– यति धेरै धन–सम्पत्ति भएको केटोलाई किन उनले अस्वीकार गरिन्?
जवाफमा महिला मित्रको उत्तर थियो, ‘बाउको पैसाले किनेको मोटरसाइकलमा पेट्रोल हालेर तुजुक देखाउनुभन्दा आफैले किनेको साइकलमा हावा हालेर देखाउन।’
ती महिला मित्रको जवाफ स्पष्ट थियो– सबै धनकै पछाडि लाग्दैनन्। कलेजमा पढ्ने मेरा ती मित्रको हाल निधन भइसकेको छ र दिंवगत मान्छेको बारेमा धेरै कुरा गर्नु राम्रो पनि होइन।
त्यसैले आलेखको सुरुमै प्रष्ट पार्न चाहन्छु– पंक्तिकार धन–सम्पत्तिले भरिपूर्ण मान्छे होइन। त्यसैले बाउ–बाजेको अंशको रुपमा कुनै प्रकारको सम्पत्ति आउने कुरा भएन। आफूसँग नभएको कुराको मूल्य हुँदैन भन्ने भनाईलाई आत्मसात गर्ने हो भने मलाई ‘मसँग बाउ–बाजेको टन्न सम्पत्ति छ’ वा ‘मलाई काम गर्नुपर्दैन, बसी-बसी खान पुग्छ’ भन्ने र यस्तै मिल्दाजुल्दा संवादसँग कुनै आकर्षण छैन।
उसै पनि कोसँग के कति धन–सम्पत्ति छ भन्ने कुरा अर्को ब्यक्तिलाई मतलव हुने कुरा भएन। हुनु पनि हुँदैन। अर्काको सम्पत्तिमा कसैले मतलव राख्छ भने त्यो ब्यक्ति बिनाकारण दु:खी हुने गर्छ। अरुसँग भएको नगद वा जिन्सीबाट उसले केहीँ पाउनेवाला होइन।
कसैसँग प्रशस्त स्रोत र साधन छ, उसले देश र समाजको लागि सानो भए पनि योगदान गर्छ भने उ धनी हो। आफ्नो लागि मात्र गरेको छ भने त्यो ब्यक्ति धनी होइन।
धनी र गरिब कसलाई भन्ने?
पंक्तिकारको विचारमा यदी तपाईं आफ्नो सबै आवश्यकता आफै पुरा गर्नुहुन्छ र तपाईंको सामाजिक, आर्थिक अवस्था हिजोभन्दा आज राम्रो छ भने तपाईं धनी हो। संसारमा धनी को हो भन्ने विषयको उठान हुँदा हामीले सबैभन्दा बढी विश्वास सर्वमान्य मानकलाई मान्नुपर्ने हुन्छ। र, त्यो सर्वमान्य मानक हो, ‘फोर्ब्स पत्रिका’।
अमेरिकाबाट पाक्षिक रुपमा प्रकाशित हुने यो व्यवसायिक पत्रिकाले हरेक वर्ष को कति धनी भनेर तोक्छ। यसले के–कस्ता मापदण्ड अपनाएर तोक्ने काम गर्छ– त्यो पंक्तिकारलाई जानकारी छैन। तर सबैले यो पत्रिकाको निर्णयलाई स्वीकार गर्छन्।
फोर्ब्स पत्रिकाअनुसार हाल संसारको धनी ब्यक्ति अमेजनका मालिक जेफ बेजोस हुन्। जसको सम्पत्ति १ दशमलब ७७ खर्ब अमेरिकी डलर बराबर छ। त्यस्तै भारतका सबैभन्दा धनी रिलायन्स इण्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी हुन्, जसको कूल सम्पत्ति ७५ अर्ब अमेरिकी डलर छ।
नेपालका धनि व्यक्तिमा बिनोद चौधरी पर्छन्। चौधरी समूहका अध्यक्ष तथा कार्यकारी प्रमुख चौधरीको कूल सम्पत्ति १ दशमलब ४ अर्ब अमेरिकी डलर छ।
यी माथिका तथ्याङ्क हेर्दा हामी सबैले आफूलाई मेरो के नै हैसियत रहेछ भनेर सोच्दा उचित होला। यहाँ पंक्तिकार जस्तो ‘हरितन्नम’ को कुरा होइन, आफूलाई धनवान दाबी गर्ने मान्यवरको कुरा गर्न खोजिएको हो।
घरको कोठा भाडामा दिएर त्यहाँ बस्ने मान्छेसँग बिजुलीको प्रति युनिट २ रुपैयाँ बढी उठाएर र श्रीमतीलाई कचकच गरेर ससुरालीले किनिदिएको मोटरसाइकल वा कार चढेर आफूलाई धनी मान्नेलाई धिक्कार छ।
आर्थिक अवस्थालाई सफलताको मानक मान्ने हाम्रो समाजले त्यस्तै ब्यक्तिलाई बढावा दिने कारण आत्मसम्मान गुमाएर पनि धन सम्पत्ति कमाउन पर्ने अवस्था आएको हो। अहिले देशमा जसले अबैध काम गरेर ‘ओभर नाईट’ सफलता हासिल गरेका छन्, उनीहरु नै समाजका आदर्श पात्र बनेका छन्।
समाजमा उनीहरुलाई कसैले औँला उठाउने साहस गर्दैन। जसले गर्छ, उसलाई पुरै समाज मिलेर आफू पनि गर्न नसक्ने र अरुको पनि डाहा गर्ने भनेर खेदने काम हुन्छ। यो भएको पनि छ।
पाठकवर्गलाई अपाच्य लाग्ला तर यो सत्य हो– धेरै मान्छेका लागि मोटो आर्थिक उपार्जनको श्रोत जुवातास र बेश्यावृति बन्न थालेको छ। आफूलाई सम्मानित दाबी गर्नेले घरमै निश्चित कमिसन लिएर दिनभरी जुवातास खेलाउने काम गर्छन्, गरिरहेका पनि छन्।
यस्तै आर्थिक उपार्जनका लागि छालाको ब्यापार पनि निर्धक्क भइरहेको छ। यो प्रमाणित गर्न कठिन र चुनौतीपूर्ण पनि छ। त्यसैले यस्ता गतिविधिमा संलग्नहरुले आत्मसात नगरेसम्म देशको कानूनले मात्र यी कार्य रोक्न कठिन छ।
यसमा दुई मत छैन, आजको समयमा पैसाले अक्सिजनको काम गरिरहेको छ। जीवनको गाडी अगाडि बढाउन अक्सिजन आवश्यक छ तर क्षमता र बौद्धिकता शरीर हो। त्यसैले तपाईसँग शरीर छैन भने अक्सिजनको औचित्य नै के छ र?