सिमसिम पानी पर्दैछ। एकछिन अघि पिलिक्क घाम लागेको बिहान, फेरि जुम्रे पानी पर्नथाल्यो।
दलानमा दुईवटी दिदी घुम ठिक पार्दैछन्। घुम बुन्ने बेलामा ढुकुरे दाईलाई धेरै जाँड नदिनु भनेको, घुम नै बाङ्गो बुन्देछ।
आमातिर निशाना लाउँदै, फतफताउँदै छे एउटी दिदी। छिपछिपाउँदो जमीनमा ढुस्स परेको आकाश ओढेर आईपुगेको छ साउने संक्रान्ति।
टाउके बडाउ (बडाबाउ, बडि बा) ले राँगो काट्ने दिन आज। हिजै गाउँभोरी उर्दि लाएर गाका छन्। झट्ट, हिजोको झल्को आईगो- "भोलि ढुङ्गिनचौरमा राँगो काट्ने, मासु खानेभा आउनु है!"
स्टिलको गिलासमा एकमाना रक्सी स्वाट्ट पार्दै बडाउले सोधे- "मासु कतिको खाने तिमरू?" रित्तो गिलास उठाउँदै आमा बोल्नुभो- "५० को।"
रक्सीको पैसा कति हो?, बडाउले सोधे। पाँच रुप्या। हन दश रुप्या सेर पो रक्सी? बडाउले प्रश्न गरे। "अनि राम्रो कोदोको रक्सी कल्ले दिन्छ आठ रुप्या सेर? आमाले प्रष्टिकरण दिनुभो।
"त्यै मासुको पोइसामा कटाउनु पछि" यति भन्दै बाटोलागे उनी। चाडबाडमा सधैँ राँगो काट्छन टाउके बडाउ। लोभी र धेरै नाफा खाने जमानी भन्दै उनका कुरा काट्छन् गाउँलेहरु।
चाडबाडको दिन भए पनि दिदिहरु खेताला नगई नहुने छ। गाउँका ८-१० वटि केटी र त्यति नै लाठेहरु काखीमा घुम च्यापेर बडका बेंसीतिर लागे, मुखियाको धान काट्न। केटीहरूलाई १०-१० पाथी धान हाल्दियो चन्द्रेले। बतासेको उकालोमा थाप्लो दुखेर झन्नै मरें।
मुखियाको घरमा धानको बोरा पुर्याएर आएकी दिदी मासुभात खाँदै फतफताई, "बर्लाहा आईपुग्दै झमक्क रात परिगो, बल्लबल्ल आइपुगियो। अझै २ दिन लाग्छ अरे धान काटिसक्न, अर्कोहप्ता रोपाइँ अरे।"
प्राय: गाउँलेहरुले मुखियाकै खेत अधियाँ कमाएका छन्। मुखियाको रोपाइँ सकेर मात्र आफ्नो धान काट्न थाल्छन् उनीहरु। धान काट्दा, खनजोत गर्दा, रोपाइँ त साउनको टुप्पोमा पुगिहाल्छ। साउनको अन्तिम हप्ता मईते बडाउकोमा रोपाइँ छ। हली, बाउसे र रोपाहार जुटाएर रोपाइँ हुँदैछ। त्यसै दिन दर्के पानी पर्यो। खाजा खाने बेला हुँदा-नहुँदै मुखियाका छोरा त्यहाँ पुगे।
असारमा भल बग्नेगरी पानी नपरेकाले पाखा खेतमा रोपाइँ हुन पाएको थिएन। मुखियाको पल्लो बारीनेर टारीखेत छ। हिउँदमा हामी केटाकेटी भेला भएर त्यहाँ डण्डिबियो खेल्छौं। बडका बेंसीको रोपाइँ छोडेर खेतालाहरु टारिखेत आईपुगे।
मुखियाको पनि ठूलै जहान छ। छोरा-छोरी धेरै छन्। कान्छो छोरो कमेरे भञ्ज्याङकाे स्कूलमा मसँगै पढ्छन्। हुर्केका छोराछोरी खेतालासँगै रोपाइँमा भिडे। बियाँलो गर्यो भने पानी सुकिजान्छ, पाखा खेतमा। हाँपझाँप गर्दै दर्के पानीको भल छोपेर टारीखेतको रोपाइँ तुरे।
एकदिन बिहानै मुखियाले कचहरी बोलाए। कोलपाटामा पञ्च भेला भए। सबैजाना मौन छन्। टासाकटुसुक बसेका मानिसहरुका अघि मईते बडाउले सिलाएको छालाको जुत्ता लाएका मुखिया हात पछाडी लाएर ओल्लोछेउ र पल्लोछेउ गर्दैछन्।
उनी च्याँठिएर कराउन थाले- मकै छर्ने बेलामा हलोले भित्ता कपेर जोत्यो। उनको बारीपुछारको पाटामा झरिले गलेर तल्लो गरामा झरेको एक ढिस्को कान्ला औंल्याउँदै उनी झन् चर्किए- सबैले हेर्देओ यो बिझ्याईं। मुखिताङ्गेले गर्दा मेरो बारीको कान्लो भत्कियो। त्यहाँ पर्खाल लाइदेओस्। मेरा मकैका बोट पनि उसका बारीमा झरे, मेरा बारीका मलिलो माटो पनि झरे। त्यसको हर्जाना कल्ले भर्छ? यसरी मलाई मर्का पार्न पाईंन्छ? मुखिया असिन-पसिन हुँदै बिषय राख्दैछन्।
होचो कदका मुखिताङेले अग्लो कदका मुखियातिर ताकेर हेर्दै कटाक्ष गरे- "मैले आफ्नो खायलमा बालीनाली लाएको हो। कसैको केही बिगार गरेको छैन। बर्खामासमा झरी पर्यो, उसको बारीको कान्ला भत्कियो। त्यसमा मेरो दोष हुन्छ? बरु उसको कान्ला भत्केर मेरो मकैबाली पुर्यो। मलाई कसैको माटो चाहिएन। माटो पन्छाईदिनु, नभए खनेर सुठुनी पो रोप्छु।"
बर्खामा कान्ला-कुन्ली त भत्किन्छ नि। हिउँद लागेपछि मुखियाले आफै पर्खाल लाए हुन्छ, अहिले बाझो नगरौं। कचहरीले मुद्दा छिन्दियो।
मुख फर्काउने, उनलाई मुखिया नपुकार्ने ती सँधियार मुखियालाई मन पर्दैन। बेलाबखत साँध-सिमानाको बखेडा झिकेर रडाको गरिरहन्छन्। कचहरी बोलाई रहन्छन्। मुखिताङबाट बसाईं सरेर उनको छिमेकी हुन आईपुगेको त्यो परिवार उनलाई घाँडोझैं भएको छ।
अलि परतिर उनैले भोगचलन गर्ने गरेको चौर छ। गाउँलेहरु त्यसलाई तान लाउने डाँडो भन्छन्। चौरमा उनका गाई भैंसी चर्छन्। तलैसम्म पोथ्रा-पोथ्री छन्। चिलाउने र सल्लाका रुख छन्। बाँसका झाङ्घरु छन्। र पूर्वपट्टी दुईवटा घर छन्।
भोलिपल्ट बिहानै चौरको डिलबाट उँधो फर्किएर मुखिया कराए- ए... मिजार! झट्टै मेरामा आईज त। मईते बडाउ गाउँमा बलिया-बाङ्गामा गनिन्छन्। गाईभैंसीलाई दवाई खुवाउनु परेमा उनैलाई गुहार्छन् गाउँले। जस्तोसुकै मस्सुर र बैमानी गाईभैंसी भए पनि च्याप्प काखीमा समाएर दवाईको ढुङ्ग्रो कोच्याइदिन सक्छन् उनले एक्लै।
खोटाङ बजारको शनिबारे हाटमा बेच्न छालाका जुत्ता बनाउँदै गरेका मईते बडाउ काम छोडेर मुखियाको आँगनमा हाजिर हुन पुगे। तान लाउने डाँडोदेखि पल्लोबारीसम्म वारपार कुलेसो काट्न लगाए मुखियाले। उनको जग्गाबाट बगेर आउने भल तलतिर मुखिताङ्गेको पाखाखेतमा पुगेर सिंचाई हुन नपाओस् भन्ने मुखियाको परियोजना निर्माण सम्पन्न भयो।
कुलेसो बग्दै गयो। पोथ्राहरुमा पात फेरिए। बाँसका झाङहरु झाँङ्गिदै गए। टारीखेतमा डण्डिबियो खेल्न अर्का छिमल आउन थाले। हली, बाउसे र रोपाहारहरु तितर-बितर भइगए।
स्कूल धाउने एउटा पिंढी हुर्कियो। मेलो सकाएपछि दिईने एकमानो सामलमा खेतालापात हिँड्न मानेन त्यो पिँढी। आत्मसम्मान, चैतन्य उन्नयन र सामाजिक श्रीवृद्धिको भाष्य बिजारोपण गरे। गाउँमा गल्ली र गोरेटोहरु सम्याउन लागे। आँगन र फूलबारी सफा गर्न थाले।
चिसो हिउँदको एकदिन घाम नझुल्किदै गाउँमा गाईंगुईं चल्न थाल्यो, मान्छेहरु खास-खुस गर्न लागे,"मुखियाहरु त हिँडेछन्।"
एक-कान दुई-कान हुँदै हल्ला फिँजियो। गाउँका मान्छे उठ्नु अघि नै घरबारी वेवारिशे छोडेर मुखियाले स-परिवार गाउँ छाडेछन्।
हप्तौंसम्म मान्छेहरु यसैबारे कुरा गर्थे। भन्थे- गाउँलेले देख्लान् भनेर भालेको पहिलो डाकाेसँगै गाईवस्तु हिँडाउने खोल्सीको बाटो बसाईं गए अरे।
मान्छेहरुले अनेक लख काटे पनि मुखिया कहाँ बसाईं गए, कसैले पत्तो पाएनन्। तीन बर्षपछी फेरि गाईंगुईं हल्ला चल्यो- सपरिवार मुखिया त फलानो ठाउँमा पो छन् अरे।