काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरस संक्रमितको सङ्ख्या बढेको छ। स्थानीय बासिन्दाहरुबीच हल्ला व्याप्त छ– फेरि साउन २ गतेदेखि ‘लकडाउन’ हुन्छ रे ! तर, काठमाडौं उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीहरुले भने यो हल्लामा कुनै सत्यता नभएको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मङ्गलबारदेखि कोरोना भाइरसका निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी रहेको छ।
काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा दुई सातादेखि निकै खुकुलो बनाइएको छ। उपत्यकाको बजार र सबै खाले यातायात सुचारु भए पनि अझै असार मसान्तसम्म निषेधाज्ञा जारी नै छ। यो खुकुलो भएको मात्र हो, हटेको छैन। अझै साँझ ६ बजेपछि लत्ता–कपडालगायतका पसल खोल्न निषेध नै छ।
कोरोना सङ्क्रमण दरमा केही वृद्धि भएको तथ्याङ्क देखिएको भए पनि तत्काल निषेधाज्ञामा फेरि कडाई गर्ने योजना नरहेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिएल नेपाली सेवासँग भने, ‘बजारमा फैलाइएका हल्लाको पछि नलाग्नुहोस्, तत्काल निषेधाज्ञा कडाइ गर्ने विषयमा हामीले सोचेका छैनौँ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञ बडा बनाउने भनी बजारमा फैलिएको हल्लाको खण्डन गरे। उनले भने, ‘थप निषेधाज्ञाबारे कुनै छलफल भएकै छैन। कडा गर्ने अहिलेसम्म कुनै योजना छैन।’
‘पछिल्लो साता संक्रमण दरमा केही वृद्धि भएको छ। जारी निषेधाज्ञा थप कडा बनाउने भन्ने बारेमा कुनै छलफल भएको छैन्’, निरौलाले भने, ‘बरु आम नागरिकलाई अनुरोध छ– जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरिदिनुस्।’
यस्तो छ पछिल्लो कोरोना अपडेटः
असार संक्रमित निको हुनेका संख्या मृत्यु
२६ २१६९ १४६२ २२
२५ २२३९ १३१६ २०
२४ १८७५ १२८६ २९
२३ २९७९ १३३३ २८
२२ २६३४ १५६५ १५
२१ २६२२ २२११ २३
२० १६०३ २५५२ २७