विवश वस्ती
नेपाली राजनीतिक वृत्तमा एउटा आहान पूर्ववर्ती समयदेखि नै चल्दै आएको छ– ‘ब्याक टु मंगलमान’। राणाकालको उत्तराद्र्धकालीन समयदेखि काठमाडौंको राजनीतिक, सामाजिक एवं सांस्कृतिक परिवेशमा ‘विद्रोही’ छवि निर्माण गरेका मंगलमान प्रधान ‘नेपाली’को चरित्रलाई केन्द्रबिन्दुमा राखेर यो आहानको उद्भव हुन पुगेको थियो। तत्कालीन समयमा राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँग अत्यन्तै निकट रहेका मंगलमानको विद्रोही चेत र सक्रियताप्रति इंगित गर्दै रेग्मीले भनेका थिए, ‘ब्याक्ड बाई मंगलमान।’ तर राजनीतिज्ञ रेग्मीको यो भनाइ अपभ्रंश भई तत्काल र समयान्तरमा जनजिब्रोबीच ‘ब्याक टु मंगलमान’मा रूपान्तरण हुन पुग्यो। वर्तमानमा पनि यदाकदा यो आहान प्रयोग हुन छाडेको छैन।
राणाकालको आखिरी दिनदेखि २०१७ पुस १ गते राजा महेन्द्रले राजकीय शक्ति आफ्नो हातमा खिचेको समयावधिसम्म १८ पटक जेल जीवन भोगेका मंगलमान तत्कालीन समयमा विद्रोहका चल्तापुर्जा अभियानकर्मी नै थिए। ०१७ सालको काण्डमा जेल परेका उनले शारीरिक अस्वस्थता झेल्दै २०१८ सालमा मृत्युवरण गरे। बाँचुन्जेल उनले राजनीतिको धरामा उभिएर समाजमा सांस्कृतिक चेतनाको बीजाङ्कुर गर्न अतुलनीय भूमिका खेलेका थिए। राजनीतिकर्मी र पत्रकारको समेत छवि बनाएका उनी काठमाडौंका नेवार समुदायभित्रका कथित तल्लो जातिलाई गोलबन्द तुल्याउने र जात प्रथाको जड–छेदन गर्ने अभियानमा जीवनपर्यन्त सरिक रहे। समाजमा तल्लो भनिएको श्रम गर्ने च्यामे, पोडे, कुसुलेजस्ता दलित समुदायलाई संगठित तुल्याई उनीहरूभित्र ‘अधिकारको भोक’ जगाउने कार्यमा उनले अग्रसरता लिएका थिए। तिनै समुदायमा भिजेका मंगलमानले पारिवारिक असहमतिको लक्ष्मण–रेखा उल्लंघन गरेर दलित समुदायकी केटीसँग वैवाहिक सम्बन्ध जोड्ने ‘धृष्टता’ गरेका थिए। तर तत्कालीन अवस्थामा त्यस्तो चाँजोपाजो मिलेन। कथित उच्च जातका मंगलमानले दलित समुदायकी केटीसँग विवाह गर्ने प्रयत्न गर्नु तत्कालीन अवस्थामा विद्रोहको उच्चतम रूप थियो।