काँग्रेस महाधिवेशन : प्रदेश २ मा देउवा र निधिको टकरावले ‘क्लिन स्वीप’ मा चुनौती

रातोपाटी

काठमाडाैं

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनलाई लिएर केन्द्रदेखि जिल्लासम्म नेतृत्वको जोडघटाउ चलिरहेको छ। पार्टी सभापतिका लागि केन्द्रमा करिब एक दर्जन दाबेदार देखिँदा देशैभरि जिल्ला सभापतिका आकांक्षीहरु पनि हिसाब–किताबमा जुटेका छन्। उनीहरुले पार्टीमा प्रारम्भिक (क्रियाशील सदस्य) मतदातामाथि पकड राख्ने र केन्द्रीय नेतृत्वसँगको लबिङ बढाउने काम गरिरहेका छन्।

यसैक्रममा प्रदेश २ का ८ जिल्लामा पनि सभापतिका लागि आकांक्षीहरुको दौडधुप शुरु भएको छ। १३ औं महाधिवेशनका क्रममा यो प्रदेशका आठवटै जिल्लामा शेरबहादुर देउवा पक्षले जिल्ला नेतृत्व ‘क्लिन स्वीप’ गरेको थियो। यसपालि देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन्।

अघिल्लोपटक रामचन्द्र पौडेल पक्षले तुलनात्मक रुपमा बलियो मानिएको सिरहा, बारा र रौतहटमा समेत पराजय भोगेको थियो। तर १४ औं महाधिवेशनमा प्रदेश २ का आठवटै जिल्लामा देउवा पक्षले पौडेल पक्षसँग नभई आफ्नै गुटभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिएको छ।

लामो समय देउवा पक्षमा रहेर भूमिका निर्वाह गर्दै आएका विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिको दाबी गरिरहेका छन्। यस्तो अवस्थामा अर्को कुनै चमत्कारिक सहमति भएन भने देउवा पक्षले आफ्नै गुटभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने आँकलन गरिएको छ।

प्रकाशित मिति: : 2021-07-09 13:48:00

प्रतिकृया दिनुहोस्