सुशीला शर्मा
मकवानपुर जिल्लाको एक पहाडी गाउँमा नीरमाया दिदीको १४ वर्षको उमेरमा बिहे भएको थियो । निम्न वर्गीय बाहुन परिवारमा जन्मेकी उनी अहिले त्यस्तै ५५ वर्ष पुगिन् । मैले उनलाई विवाह भएदेखि अहिलेसम्म पनि नजिकैबाट नियालेकी छु । उनी र ममा केही फरक छ त, केवल केही वर्षको उमेर र केही शिक्षा वा भनौँ चेतनाको । म महिला हुनु र महिला भएर सहन गर्नुपर्ने सामाजिक मान्यतालाई नियाल्न, यो त विभेद रहेछ भनी भन्न सक्ने भएकी छु । नीरमाया दिदीको जीवनमा उमेरसँगै शारीरिक श्रममा कमी आयो, तर सुझबुझ उस्तै छन् ।
सात दाजुभाइ र दुई दिदीबहिनीमा उनी सबैभन्दा कान्छी हुन् । त्यतिबेला अलि हुनेखाने परिवारमा छोराहरूलाई पढाउन कोसिस गरे पनि छोरीहरूलाई पढाउने सोच विकास भइसकेको थिएन । निम्न वर्गीय नीरमायाले पढ्न पाउने कुरै आएन ।
मकवानपुरको समथर भूभागमै जन्म भए पनि उनको विवाह भने अलि माथि जंगल र खोरिया भएको पहाडतिर भयो, वर्ग मिल्नेसँग । उनले बिहे गरेर गएको घरमा पाखो बारी र केही वस्तुभाउ थिए । परिवार ठूलो थियो । घरको गर्जो टार्न नन्द, अमाजू, देवर लगायतले दशनंग्रा खियाउनुपथ्र्यो । ढिँडो, रोटी, कहिलेकाहीँ चामलको भात र चाडपर्वमा मासु खान र वर्षमा एक जोर कपडा पाउनु नै ठूलो कुरा हुन्थ्यो नीरमायाका लागि । भैँसीको दूध बेचेर नून, लत्ता–कपडा, चामल, मसला किन्नुपथ्र्यो ।