विज्ञानले जाेडेकाे बाउ-छाेरीकाे कथा 'द टुमारो वार'

Breaknlinks
Breaknlinks

विज्ञान कथा (साइन्स फिक्सन)को सिनेमाका दर्शकहरुको लागि निर्देशक क्रिस मेके कुनै नौलो नाम होइन।

विज्ञान र मानवीय भावनालाई एकैसाथ अगाडि बढाउन निर्देशक मेके खप्पिस छन्। पछिल्लो सिनेमा "द लेगो ब्याट म्यान"मा जस्तै उनले नयाँ सिनेमा "द टुमारो वार" मा पनि विज्ञानको साथै एउटा बाउ-छोरीको भावनालाई बडाे सुन्दर र मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरेका छन्।

कुशल सम्पादक पनि रहेका निर्देशक मेकेको सिनेमामा कुनै "जर्क" हुँदैन।

सिनेमाको कथा डेन फरेस्टर (क्रिस प्रेट) नामको एक स्कुल शिक्षक को हो, जसको नौ वर्षको छोरी र पत्नी छिन्। त्यसै समय आउँदो ३० वर्षमा पृथ्वीमा मानवता समाप्त हुने खतरा भएको पत्ता लाग्छ।

यो कुरा सिनेमाको कथामा मात्र लागेको हो, उसरी मानवता अहिले नै समाप्त भइसकेको छ। त्यी मानवता विरोधी जीवहरुसँग प्रतिरोध गर्न एउटा समूह गठन हुन्छ। त्यो समूहको एउटा सदस्यको रुपमा डेन फरेस्टर पनि छन्। त्यी जीवहरुसँगको संघर्षकै समय उनको भेट आफ्नो छोरीसँग हुन्छ। जसलाई उनले नौ वर्षको उमेरमा छोडेर आएका थिए। उनको छोरी हाल सेनाको कर्णेल छिन्। त्यसपछि बाउ-छोरीको भेट। खुशी र मुटु चिसो हुने भावना नै यो सिनेमाको मूल कथा हो। 

आफ्नो सुगठित शरीर र अभिनयले चर्चित आर्नोल्ड स्वार्जोनेगरका ज्वाईं क्रिस प्रेट आफै "सुपर स्टार" हुन्। यो सिनेमाको कथा अगाडि बढाउनमा उनलाई जे के सिमन्स (जेम्स फरेस्टर), सेम रिचर्डसन (चार्ली), एडविन हज (डोरिएन) जस्ता अन्य सुपर स्टारहरुले साथ दिएका छन्।

बाउ-छोरीको मिलन र विछोडको साथै विज्ञानका अनेक प्रयोगलाई सँगै अगाडि बढाएर निर्देशक मेकेले एक मनोरञ्जनात्मक सिनेमा निर्माण गरेका छन्। कथा मार्मिक छ, तर हिन्दी सिनेमाको जस्तो रोइ-कराई हुँदैन।

सिनेमामा प्रेटले निकै भावुक अभिनय गरेका छन्। छोरी कर्णेल मुरी फरेस्टर (य्वोने स्ट्राहोव्स्की) सँगको मिलनको प्रकरण निकै मर्मस्पर्शी छ। आमाको चरित्र एमी फरेस्टर (बेट्टी गिल्पिन) को अभिनय पनि उच्चस्तरको छ। अन्य कलाकारहरु सामान्य छन्, जो सबै हलिउड सिनेमाका ख्याति प्राप्त कलाकारहरु हुन्।

नौलो कथा, चुस्त पटकथा, कुशल निर्देशन र कलाकारहरुको स्तरीय अभिनयको कारण यो सिनेमा दर्शनीय बनेको छ। दुई घण्टाभन्दा बढी लामो यो सिनेमाको सम्पूर्ण शुटिङ्ग रुसमा गरिएको हो।

नौलो लोकेसनको कारण पनि सिनेमा हेर्दा पट्ट्यार लाग्दैन। त्यसाे त पंक्तिकारजस्तो दर्शकको लागि सबै लोकेसन एउटै लाग्छ।सिनेमाको पार्श्व संगीत भने चर्को छ, जो सुन्दा त्यति कर्णप्रिय लाग्दैन।

अंग्रेजी भाषामा दखल भएका र विज्ञान कथामा रुची भएका दर्शकहरुको लागि यो सिनेमा निकै रोचक छ। तर पंक्तिकारजस्तो अंग्रेजी भाषामा कमजोर र विज्ञान कथामा खासै रुची नभएको दर्शकहरुका लागि 'कागलाई बेल पाक्याे, हर्ष न विस्मात' जस्ताे हुन्छ। अमेजन प्राइममा यो सिनेमा सशुल्क उपलब्ध छ।

प्रकाशित मिति: : 2021-07-08 19:36:00

प्रतिकृया दिनुहोस्