अफगानिस्तानमा बढ्दै तालिबानको प्रभाव, अप्ठेरोमा नेपाली

Photo - Reuters
Photo - Reuters

अफगानिस्तानबाट अमेरिकी सुरक्षा फौज फिर्ता भएपछि आतंकवादी संगठन तालिबानले आफ्नो प्रभाव फैलाउन थालेको छ।

तालिबान लडाकुले अफगानिस्तानका कैयौँ जिल्ला आफ्नो कब्जामा लिएका छन्। एक हजारभन्दा बढी सैनिकहरू तालिबानसँगको भिडन्तपछि भागेर ताजिकिस्तानतर्फ पुगेका छन्।

अफगानिस्तानमा हिंसा चर्किएको छ र हालैका दिनमा तालिबानले देशको उत्तरी भेगमा कब्जा गर्ने कार्यमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको बीबीसीले जनाएकाे छ।

तालिबानसँग भएको एक सम्झौता अन्तर्गत अमेरिका र उसको नेटो साझेदारहरूले आफ्ना सबै फाैज फिर्ता लैजाने र बदलामा उक्त उग्रवादी समूहले उनीहरूको नियन्त्रण रहेको क्षेत्रमा कुनै पनि कट्टरपन्थी समूहलाई सक्रिय रहन नदिने प्रतिबद्धता जनाएका थिए। तर तालिबानले अफगान सैन्यसँगको लडाइँ बन्द गर्न सहमति जनाएनन्।

अफगानिस्तानमा पछिल्लोपल्ट बढिरहेको तालिबानको प्रभावसँगै भारतलगायत अन्य देशले आफ्ना नागरिक घर फर्काउन लागेपनि नेपाल सरकार भने मौन छ।


दुई वर्षसम्म बङ्करभित्र बाँचेको मानिस


कामदारको रुपमा अफगानका विभिन्न शहर तथा ग्रामीण भेगमा थुप्रै नेपालीहरू छन्। उनीहरू तालिबानको आतंकले त्रसित र अप्ठेरो अवस्थामा बाँचिरहेको बताउँछन्। 

नेपालीहरूको असुरक्षित र अवैधानिक बसाँइबारे नेपाल सरकारले गम्भीर चिन्ता व्यक्त गरेको देखिँदैन। अफगानिस्तानको कयौँ शहरमा नेपालीहरूको बाक्लो उपस्थिति छ।

नेपाल सरकारले उनीहरूको सुरक्षालाई लिएर अहिलेसम्म कुनै कदम चालेको छैन। छिमेकी देश भारतले काबुल, कन्धार र मजाए–ए–शरीफ शहरमा रहेका आफ्ना कर्मचारी र कामदार निकाल्ने योजना बनाइसकेको छ।

तालिबानका कारण यहाँको सुरक्षाको अवस्था चिन्ताजनक छ। कतिपय देशले दूतावास तथा वाणिज्य दूतावासबाट काम गर्न नसक्ने बताएका छन्।

आतंकवादी संगठन तालिबानको आक्रमण त्राससँगै अफगानी अधिकारी समेत सरकार नियन्त्रित क्षेत्रबाट भागाभाग गर्न थालेका छन्। 

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता प्रक्रिया शुरु भइसकेको छ। कम्तिमा दुई दशक अफगान बसाँइपछि अमेरिकी सैनिकले बगराम एयर बेसले छाडेको छ।

एयरफिल्ड अफगान राष्ट्रिय सुरक्षा तथा रक्षा बललाई जिम्मा दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। 

प्रकाशित मिति: : 2021-07-07 08:08:00

प्रतिकृया दिनुहोस्