तालिबानकाे हमलाबाट बच्न दुई वर्षसम्म बङ्करभित्रै लुकेका नेपाली

दिलिप कुवँर

काठमाडौँ

समय- सन् १०१२। अप्रिल महिनाको एक साँझ। 
स्थान- बग्राम, अफगानिस्तान। (पाकिस्तानको सिमाना।)

केशव भण्डारी (३१ वर्ष) अमेरिकी सेनाका लागि खाना बनाउँदै थिए।

काँचो अण्डा एक-एक गरी फोर्दै भाडामा राख्दै थिए, उनी। ठीक त्यतिबेला एउटा 'इमर्जेन्सी साइरन' बज्यो- इन कमिङ...इन कमिङ...इन कमिङ।

सबै सेना र कर्मचारीहरु हतार-हतार दौड्दै जमीनमुनिको घर–गुफा–सुरुङमा छिरे। तर उनी भने एकछिन अलमलमा परे। सबैलाई हेरे– दौडिरहेका थिए। त्यही भीडबाट कसैले उनलाई लुक्न भन्यो।

केशव पनि अरुकै पछि-पछि कुदे र जमीनमुनिको घरमा छिरे। केशवलाई थाहै थिएन, बङ्कर भनेको। उनले त्यहीँ पहिलो पटक बङ्करको अनुभव बटुले।

उनी बङ्करभित्र छिरेको दुई मिनेटपछि एउटा ठूलो र डरलाग्दो विष्फोटको आवाज सुनियो–  धुम्म...धुम्म...!

बङ्करभित्र छिरिसकेपछि केशवलाई बल्ल थाहा भयो– त्यो आवाज तालिबानले हमला गरेको बमको थियो। उनी अरुसँग घण्टौँसम्म त्यही बङ्करभित्रै बसे। बाहिर निस्कन सम्भव थिएन।

पछि बिस्तारै उनले अरु साथीहरुलाई सोधे, 'कसले गरेको हो, यो हमला ?'

उनका साथीहरुले भनिदिए, 'तालिबान समूहले।'

गुल्मी जिल्लाको धुर्कोट घर भएका केशव सानै उमेरदेखि वैदेशिक रोजगारीमा गएका थिए। यस सिलसिलामा विभिन्न देश पुगे। उनी पहिलो पटक मलेसिया गएका थिए। जति बेला उनी २० वर्ष मात्र भएका थिए। 

सानैदेखि उनले परिवारको जिम्मेवारी बोके। किशोरावस्थाको पूर्ण अनुभव खासै छैन उनीसँग तर दुःख र सुखका थुप्रै किस्साहरु छन्।

२० वर्षको कलिलो उमेरमै सन् २०१० मा उनी मलेसिया गएर एउटा स्तरीय होटलमा काम गरे। जहाँ उनले खानाका विभिन्न परिकारहरु बनाउने कला सिके। उनी  'कूक' भए। 

हरेक कुरामा जिज्ञासु बन्नु, नयाँ–नयाँ काम गर्न खोज्नु उनको स्वभाव थियो। यसै कारण पनि उनी मलेसियामा लामो समयसम्म टिक्न सकेनन्। दुई वर्षका लागि गएका उनी १७ महिनामै फर्किए, नेपाल।

दुबईमा एउटा अन्तर्वार्ता दिए– 'फूड सर्भिस टेक्निसियन'को लागि। नाम निस्क्यो, उनको। अनि उनी रोजगार (फूड सर्भिस) को लागि जानुपर्ने भयो, अफगानिस्तान।

'मलेसियामा मैले काम त सिके तर काम अनुसारको पारिश्रमिक भएन। त्यसपछि स्वदेश नै फर्किएँ', उनले भने।

नेपाल फर्किएको केही समयपछि उनी फेरि दुबई गए। शायद् त्यहाँ एउटा अवसरले कुरिरहेको थियो, उनलाई। दुबईमा एउटा अन्तर्वार्ता दिए– 'फूड सर्भिस टेक्निसियन'को लागि। नाम निस्क्यो, उनको। अनि उनी रोजगार (फूड सर्भिस) को लागि जानुपर्ने भयो, अफगानिस्तान।

सन् २०१२ मा उनी अफगानिस्तानको बग्राम पुगे। यो सीमाक्षेत्र हो– पाकिस्तान र अफगानिस्तानको। बग्राम त्यही भूगोल हो, जो लामाे समयदेखि अल कायदा र तालिबानलगायत विद्राेही समूहहरुको निशानामा पर्दै आएकाे थियाे।

सुरुमा केशव बग्राम पुग्दा उनी त्यो ठाउँ र त्यहाँको परिवेशसँग बिल्कुल अनभिज्ञ थिए। उनको काम भनेको त्यस क्षेत्रमा तैनाथ अमेरिकी सेनाहरुको लागि खाना पकाउनुपर्ने वा खाना पुर्‍याउनूपर्ने थियो।

बिस्तारै उनी त्यस क्षेत्रबारे जानकार हुँदै गए। 'सुरुमा जाँदा त्यो क्षेत्रबारे खासै जानकारी थिएन। सीमाक्षेत्र हो भन्ने मात्र थाहा थियो। तर पछि बिस्तारै तालिबानको हमलाबारे पनि थाहा भयो', केशवले सुनाए।

त्यस क्षेत्रमा आतङ्कवादीहरुले प्रायः दैनिकजसो नै हमला गर्थे। उनीहरुको हमलाबारे पूर्व जानकारी दिन त्यस क्षेत्रमा एउटा 'अटोमेटिक सिम्बोल मेशिन-टावर' राखिएको थियो। यदि कसैले हमला गर्दै छ भने दुई मिनेटअघि नै साइरन बज्थ्यो, 'इन कमिङ... इन कमिङ...।'

'सबै सेना र कर्मचारीहरु बङ्करभित्र छिर्थ्यौ। मेशिनले अल क्लियर नभन्दासम्म हामी बाहिर निस्कन सम्भव हुँदैनथ्यो', उनी सम्झन्छन्।

एक पटक त केशवको आँखाअगाडि नै उनको एक भारतीयका साथीको ज्यान गयो। जुन दृश्यले केशव अहिले पनि झसङ्ग हुन्छन्।

भएको के थियो भने– एक पटक 'सिम्बोल मेशिन'ले तालिबानले हमला गर्न लागेको सङ्केत दिइसकेको थियो। सबै सेना र कर्मचारीहरु हतारमा तँछाड-मछाड गर्दै बङ्करभित्र छिर्दै थिए। उनको भारतीय मूलका साथी पनि बङ्करभित्र छिर्ने प्रवेशद्वारमा नै थिए। ठीक त्यहीबेला बमका केही छर्राहरु उनको टाउकोमा लाग्यो। क्षणभरमै उनको प्राणपखेरु उड्यो।

बङ्करभित्र छिरिसकेपछि जबसम्म 'अटोमेटिक सिम्बोल मेशिन'ले 'अल क्लियर' भन्दैन, तबसम्म बाहिर निस्कनु असम्भव जस्तै थियो। बाहिर निस्कनु भनेको जीवनलाई खतरामा राख्नु थियो अर्थात् मेशिनले 'अल क्लीयर' नभन्दासम्म बङ्करभित्रै बस्नुपर्ने बाध्यता थियो। त्यो चाहे केही घण्टा होस् वा केही दिन नै।

त्यस क्षेत्रमा सुरक्षित रूपमा बाँच्नै दर्जनौँ बङ्करहरू बनाइएका थिए। केही बङ्करहरुमा सिमेण्ट प्रयोग गरिएको हुन्थ्यो भने केही बङ्करहरु माटोकै हुन्थ्यो।

'बम र वारुदको आक्रमणले त्यो भूगोलको जमीन नै खण्डहरजस्तो बनेकाे थियाे', केशव आज पनि याद गर्छन्।

केशवले बङ्करभित्र थुप्रै अनुभवहरु बटुले। उनको ड्यूटी कहिले रातिमा पर्थ्यो त कहिले दिनमा। 'तालिबान लडाकुहरुले दिनमा भन्दा राति धेरै हमला गर्थे', केशव सम्झदै सुनाउँछन्, 'रातिमा कुन दिशाबाट हमला हुन्छ भनेर ठम्याउनै गाह्रो पर्थ्याे।'

अलिकति लापरवाही गरेर सर्तक नरहने हो भने जुनसुकै बेला पनि बमको एक छिटाले ज्यान जान सक्थ्यो। केशवले 'आतंकवादी' र 'तालिबान' केवल समाचारहरुमा सुनेका थिए, पढेका थिए। तर जीवनको कुनै समय त्यही परिवेशमा बिताउँनु पर्ला भनेर उनले कहिल्यै सोचेका थिएनन्।

'बम र बारुदको आक्रमणले त्यो भूगोलको जमीन नै खण्डहरजस्तो बनेकाे थियाे', केशव आज पनि याद गर्छन्। 'केही बङ्करभित्र बत्ति जोडिएका थिए। तर केही बङ्करभित्र त अध्याँरो नै थियो, त्यहाँ मैनबत्ती बाल्थ्यौँ।', उनी त्यतिबेलाको दैनिकी सम्झन्छन्।

'एक पटक त तालिबान लडाकुहरुले लगातार नौ घण्टासम्म हमला गरिरहे', केशव थप्छन्, 'हामी बङ्करभित्र बसेर धुम्म-धुम्म बमकाे आवाज सुनिरह्याै।'

केशवले बग्राममा करिब दुई वर्ष बिताए। उनले दुई वर्षका प्रत्येक दिन, प्रत्येक घण्टा र प्रत्येक मिनेट हाेसियार बनेर बाँचे, बम र वारूदसँग।



फेरि पनि साम्राज्यवादी सैन्य हमला हुने नै छ

अफगानः उडिरहेको विमानबाट तीन जना यात्रु खसे, विमानस्थलमा देश छाड्नेको भीड (भिडियो)

अफगानिस्तानबाट यसरी भागे राष्ट्रपति घानी (भिडियाेसहित)

अफगानिस्तानकाे नयाँ राष्ट्रपति बन्दै तालिबानका यी नेता

अफगानिस्तानमा फेरि तालिबान शासन : विद्यार्थीले स्थापना गरेकाे विद्राेही समूह यसरी भयो शक्तिशाली

प्रकाशित मिति: : 2021-08-16 19:23:00

प्रतिकृया दिनुहोस्