यस्तो छ जसपा ‘डिर्भोस’को प्रक्रिया

शम्भु दंगाल

काठमाडौं

उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरु हल बाँधेर झण्डै १४ महिनाअघि पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । मंगलबार यी नेताहरु निर्वाचन आयोग पुग्दा अघिल्लो बर्षको भन्दा फरक दृश्य थियो । अघिल्लो बर्ष एक हल भएर आयोगबाट बाहिरिएका नेताहरु मंगलबार दुई हल बनाएर आपसमा छुट्टिने निर्णय गरेर गरेर आयोगबाट बाहिरिएका छन् ।

आयोगले मध्यस्थता गरेको छलफलमा मेलमिलापको बाटो सकिएको भन्दै दुबै पक्ष ‘डिर्भोस’ गर्न राजी भएपछि अब उनीहरुलाई कसरी बाटो फुकाउने भन्ने जिम्मेवारी निर्वाचन आयोगको काँधमा परेको छ ।

प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी हुने विषयलाई लिएर दरार उत्पन्न भएको जसपामा उपेन्द्र यादव पक्षमा बहुमत रहेको छ । ५१ सदस्यीय कार्यकारी समितिमा जसपामा यादवको पक्षमा ३० जना छन् । यस्तै २ जना कुनै पक्षमा पनि खुलेका छैनन् ।

यता महन्थ ठाकुर पक्षमा १८ जना कार्यकारिणी सदस्यमा रहेका छन् । १ जना रेशम चौधरी जेलमा रहेका छन् । आयोगमा यादव पक्षले ३० जनाको हस्ताक्षर बुझाएको सो दलका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

ठाकुर पक्षले केही दिनअघि २० जना नयाँ सदस्य थपेर ३८ जना कार्यकारिणी सदस्य रहेको विवरण आयोगमा बुझाए पनि आयोगले त्यसलाई मान्यता दिएको थिएन ।

 

प्रकाशित मिति: : 2021-07-07 06:56:00

प्रतिकृया दिनुहोस्