हलिया मुक्तिका १३ वर्ष : आज पनि भोकभोकै बस्नुपर्ने अवस्था छ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको वनहरा शिविर छ । उक्त शिविरमा ४० मुक्त हलिया परिवार बस्दै आएका छन् । बैतडी, बझाङ, बाजुरा, अछाम, दार्चुला, डडेल्धुरा लगायत जिल्लाबाट बसाइँ सरेर आएका उनीहरू २०५८ सालदेखि सो शिविरमा बस्दै आएका छन् । कतिपय २०६५ देखि २०६८ सालको बीचमा त्यहाँ आएर बस्न थालेको बताउँछन् ।

शिविरमा कोही नयाँ मानिस प्रवेश गर्ने बितिकै उनीहरू झुम्मिन थाल्छन् । कतै राहत कार्यक्रम त आएन ? कि सरकार आफ्ना वाचा पूरा गर्न बस्तीमै पुग्यो ? कोही दाताहरू पो आए कि ? नयाँ मानिस कोही पुगे पनि एकै ठाउँ भेला भएर आशावादी स्वरमा उनीहरू आफ्ना दुःख–वेदनाहरू सुनाउन थाल्छन् ।

उनीहरू सोध्न थाल्छन्, ‘हामीलाई केही मिल्ने हो कि हजुर ? घरमा छोरा बेरोजगार छन् कतै रोजगारी दिन्या हौ कि ?’ बस्तीमा रहेका १८ परिवारसँग २०६५ सालमा सरकारले हलिया मुक्तिको घोषणा गर्दा बाँडेको परिचयपत्र छ ।

तर सरकारले दिएको वाचा अहिलेसम्म पूरा नगरेकोले आफूहरूले मुक्ति पाए पनि झनै बेसहारा बन्नु परेको बुझाइ उनीहरूको छ । लगत संकलन गराइसकेका तर पुनःस्थापना हुन बाँकी २२ परिवारको पीडा पनि उस्तै छ । १४ वर्षको उमेरदेखि बैतडीमा साहुको हलो जोतेर हलिया बसेका गाँडो लुहार भन्छन्, ‘दमनबाट मुक्त भइयो तर सरकारले व्यवस्थित नगर्दा हामी बेसहारा भयौं ।’

प्रकाशित मिति: : 2021-07-06 17:53:00

प्रतिकृया दिनुहोस्