सामान्य अवस्थामा कतार जाँदा उदयपुरका हरि घिमिरेले जहाज टिकटको २५ हजार रूपैयाँसम्म तिर्थे।
आइतबार भने उनले ६५ हजार टिकट र एक लाख बीस हजार क्वारेन्टाइनका लागि भनेर जम्मा एक लाख ८५ हजार रूपैयाँ बुझाउनु पर्यो।
'अहिले होटल क्वारेन्टाइन भनेर चर्को रकम असुलिरहेको छ। के गर्नु हामीलाई जसरी पनि विदेसिनै पर्नेछ,' उनले भने, 'हामी श्रम बेच्न हिँड्नेहरू लुटिँदा सरकार चुपचाप छ।'
सरकारले अन्तर्राष्ट्रिय उडान सहज नबनाउँदा ट्राभल कम्पनीहरूले टिकट अभाव देखाएर चर्को रकम असुल्ने गरेको उनी बताउँछन्।
सर्लाहीका माजित मिक्रानुले पनि कतार जान एक लाख ८० हजारभन्दा बढी तिर्नुपर्यो। टिकट शुल्क तेब्बर छ। खोप नलगाएकालाई क्वारेन्टाइन बस्नपर्छ भनेर छुट्टै लिएको छ। हामी त चुर्लुम्मै ऋणमा डुब्यौं,' उनले भने।
साउदी जानेहरूले पनि हवाइ तथा क्वारेन्टाइनका लागि चर्को रकम खर्चिन बाध्य छन्। कास्कीका सुकदेव सार्की मजदुरीका लागि साउदी जाँदा एक लाख ६० हजार हाराहारी तिरे। 'कोरोनाको खोप भन्छ, लगाउन पाइएन। के गर्नु खाडी नगई भएको छैन। जति भन्छ तिर्नै पर्यो,' उनले सेतोपाटीसँग भने।
साउदीमा मजदुरी गरेर उनले महिनामा ३० हजार रूपैयाँ मुश्किलले कमाउँछन्। सबै खर्च कटाएर आधा पनि बच्दैन। जहाज भाडा र क्वारेन्टाइन शुल्क तिर्न झन्डै एक वर्ष खट्नुपर्ने उनी बताउँछन्।