काँग्रेसको क्रियाशील सदस्यता विवाद : धर्मशालामा टुङ्ग्याइँदै

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट 

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको प्रारम्भिक मतदाता (क्रियाशील सदस्य)को निर्क्योल गर्ने काम भइरहेको छ ।   क्रियाशील सदस्यता विवाद छानविन समितिले दिनरात नभनी विवाद टुङ्ग्याउन काठमाडौंको गौशालास्थित नेपाल–भारत मैत्री धर्मशाला भवनमा बसेर काम गरिरहेको छ ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी धर्मशालामै बसेर क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन अहोरात्र काम गरिरहेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालयका कानुन सचिव केशव रिजालले छानविन समितिको सचिवका रुपमा काम गरिरहेका छन् । रिजाल, प्रदीप पराजुलीसहित सचिवालयका ३ जना कर्मचारी पनि उक्त काममा खटिएका छन् ।

यस्तै १३ औं महाधिवेशनमा सदस्यता छानविन समितिको संयोजक रहेका नरहरि आचार्यका सहयोगी रामचन्द्र घिमिरेले पनि छानविनको काममा सघाइरहेका छन् । असार २० गतेभित्र छानविन गरिसक्नुपर्ने कार्यतालिकाअनुसार काम सम्पन्न हुन नसके पनि असार मसान्तसम्म छानविन गरी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यको अन्तिम सूची बुझाउने लक्ष्य समितिले राखेको छ । सोहीअनुसार काम भइरहेको संयोजक लेखकको भनाइ छ ।

बाहिरबाट हायर गरिएका कर्मचारीले फारम मिलाउने, प्रिन्ट गर्न र सदस्यता इन्ट्रीको काम गरिरहेका छन् । सबै विवाद समाधान गर्न जटिलता थपिएपछि छानविन सकिएको ठाउँको क्रियाशील सदस्यता सूची प्रिन्ट गर्न थालिएको छ ।

आइतबारसम्म ३० जिल्लाको नामावली प्रिन्ट सकिएको छ । सदस्यता प्रिन्ट र इन्ट्री गर्न १०÷१२ जना कर्मचारी खटिएका छन् । छानविन समितिका सदस्यहरुलाई उजुरी किनारा लगाउन र समस्या लिएर धर्मशालामा आउने कार्यकर्ताको कुरा सुन्न भ्याइनभ्याइ छ ।

प्रकाशित मिति: : 2021-07-05 11:13:00

प्रतिकृया दिनुहोस्