हनुमन्तेबाट भगवानसँगै हिमालको दर्शन (फाेटाे फिचर)

Breaknlinks
Breaknlinks

दोलखामा पर्यटकीय गन्तव्यहरु प्रशस्त छन्।

कालिञ्चोक, भिमेश्वर मन्दिर, च्छाे-रोल्पा, विगु गुम्बा, जिरी, शैलुङ आदिले जिल्लाकाे साैन्दर्यता झन् फराकिलाे बनाएका छन्।

ति मध्ये ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ, हनुमन्ते डाँडा। समुन्द्र सतहदेखि ३ हजार २०० मिटर उचाइमा पर्दछ यो रमणीय स्थल।

धेरै अगाडिदेखि त्यहाँ पुग्ने चहाना थियो। पहिलो चरणको कोरोना महामारी नियन्त्रण र फैलिन नदिन सरकारले देशैभर लगाएको लकडाउन करिब सात महिना लम्बियो।

गत दशैँ-तिहारमा लकडाउन खकुलो भयो। हनुमन्ते घुम्न जाने भन्दा-भन्दै वैशाख तेस्रो हप्ता मात्रै बहुप्रतिक्षित हनुमन्ते डाँडा घुम्ने योजना बल्ल जुर्यो।

यात्रामा हामी चार भाइ (ज्योति सिंह दाइ, मित्र अमृत भादगाउँले, लिलाराम खड्का भाई र म) थियौं।

दोस्रो दिन जिरी बजारबाट उठ्न ढिला गरिएछ। बिहानको ८ बजे खावा पुग्दा बादलले हिमाल ढाकिसकेको रहेछ। त्यसदिन हनुमन्ते डाँडा जाने योजना रद्द गरेर गुराँस पार्क र वुद्ध पार्क घुम्न गयौं।

दोस्रो दिन भने बिहानै उठेर खावा हुँदै हनुमन्तेतिर सोझियौं। वेसक्याम्पदेखि करिब ६०० मिटरको सिँढी चढेर हनुमन्ते पुगियो।

हिन्दु धर्मग्रन्थमा यस ठाउँ रामायणसँग जोडिएको छ। कथा अनुसार भगवान लक्ष्मणको उपचारका लागि हनुमानजी जडिबुटी खोज्न हिमालय पर्वत गौरिशंकर क्षेत्र पुगेको उल्लेख गरिएको छ। जडिबुटी पहिल्याउन नसक्दा उनले सिङ्गो पहाड बोकेर लगेछन्। कथन अनुसार जडिबुटि खोज्ने क्रममा हनुमानजी यही डाँडा वरिपरी भौतारिएका थिए रे ! यसरी यो ठाउँको नाम हनुमन्ते डाँडा रहन गएको विश्वास छ।

जिरी नगरपालिका र वैत्येश्वर गाउँपालिकाको सिमानामा पर्ने डाँडामा गुफा र हनुमानको मूर्ति छ। हनुमानको मुर्ति आफै उत्पत्ति भएको जनविश्वास छ। असली मुर्ति केही वर्षअघि चोरी भएकोले हालै नयाँ मूर्ति स्थापना गरिएको छ। मूर्ति नजिकै सानाे गुफा पनि छ, जहाँ शिवलिंग छ।

अलिक मुनितिर खोंचमा हनुमानका मूर्ति र गुफा छन्। केहीमाथि डाँडाको टुप्पाबाट लाङटाङ, गौरीशंकर, जुगल र नुम्बुर हिमशृंखला लस्कर देखिन्छन्।

रामायण सर्किटसँग जोड्न संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठले लामो समयदेखि पहल गरिरहेका छन्।  जनकपुर, दोलखा भीमेश्वर र हुनुमन्ते डाँडा जोडेर रामायण सर्किटको विकास गरेर धार्मिक पर्यटनको रुपमा प्रवर्धन गर्ने अभियानमा उनी जुटेका छन्।

केही महिना अगाडि बागमति प्रदेशका सभा सदस्यहरु विशाल खड्का र स्व.पशुपति चौलागाईंले खावामा हनुमन्ते प्रवेशद्वार उद्घाटन गरेका थिए। उनीहरूले यस क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धतासमेत जनाएका छन्।

पर्यटन पत्रकार अमृत भादगाउँलेले यस्तो रमणीय डाँडामा धर्मशाला, खानेपानी र शौचालय व्यवस्था गर्न ढिलाइ गर्न नहुने औँल्याएकाथिए। साथै उनले हनुमन्तेबारे जानकारी दिने सूचना पाटी  पनि ठाउँ-ठाउँमा राख्नु पर्ने बताएका थिए।

जिरीको प्रवेशद्वारसमेत रहेकाे खावा बजारमा सामान्य होटलहरु छन्। यहाँबाट जिरी बजार ११ किलोमिटर दूरीमा प्रशस्तै होटलहरु छन्।

क्षेत्री, शेर्पा र नेवारको बसोबास रहेको गैरीगाउँमा सामुदायिक होमस्टे चलाउन उपयुक्त मानिन्छ। गाउँमा होमस्टे खोलियाे भने पर्यटकलाई बास बस्न र खानपिनको सुविधा हुनसक्छ।

‘पर्यटन प्रवर्धन मञ्च नेपाल’ का युवा जिरी निवासी लिलाराम खड्काले पछिल्लो केहि वर्षदेखि "जाऔं है दोलखा " अभियान चलाएर जिरीलगायत दोलाखाको विभिन्न पर्यटकीय स्थलको प्रचार-प्रसारमा लागिपरेका छन्।

उनका अनुसार जिरी क्षेत्रका हनुमन्ते, गुराँसपार्क, ठूलो नागी, चर्दुङ, स्टोनपार्क, येलुङ, हलेसि मन्दिर, जिरिश्वरी मन्दिर इत्यादि प्रचुर मात्रामा सम्भावना बोकेको ठाउँ छन्। उनले बर्सेनी पत्रकार, साहित्यकार र कविको टोलीलाई घुमाएर आफ्नो गृह जिल्ला दोलखाको पर्यटन प्रवर्धनमा ठूलो योगदान पुर्याउदै आएका छन्।

यहाँ आउने जाे काेही पनि हुरुक्क हुन्छ। आउने भदौ-असोजमा कोरोना महामारी नियन्त्रण भएमा संस्थाले दोलाखामा पर्यटन प्रवर्धनको लागी विभिन्न थप कार्यक्रम गर्ने खड्काले वताए। उनको अभियानसँग नगरपालिका र प्रदेश सरकारले हातेमालो गर्न जरुरी देखिएकाे छ।

'हाम्रो जिरीमा हावापानी राम्रो छ, बास बस्न सुविधायुक्त होटललगायत मनोरम डाँडा, पार्क, मन्दिर, गाउँ-बस्ती, पर्यटकलाई घुम्ने प्रशस्त ठाउँहरु छन्', गाविला होटलका सञ्चालक केशर जिरेलले बताए। नेपालको स्विजरल्याण्डकाे रुपमा चिनिएको जिरीलगायत सेरोफेरो घुमेर आनन्द लिन पनि उनले निम्तो गरे।

फर्किदा चौरीको छुर्पी, घिउ, चिजको साथै गुन्द्रुक, किवी, चिया, पदमचालको रक्सी तथा हस्तकला कोसेलीको रुपमा ल्याउन सकिन्छ।

दशकअघि देखि 'एभरेष्ट गेटवे'को रुपमा परिचित जीरी सेरोफेरो प्रवर्धन गर्ने अभियानमा जुटेका लिलाराम खड्कालाई शुभकामना !

कसरी पुग्ने ?

काठमाडौंदेखि चरिकोट हुँदै खावा १७७ किलोमिटर। खावाबजारदेखि हनुमन्ते डाँडा ३ किलोमिटर। खावादेखि हनुमन्ते बेस क्याम्प (मेहेलेसम्म) कच्ची सडक। वेसक्याम्पवाट हुनुमन्ते ६०० मिटर उकालो। खावाबजारदेखि जिरी ११ किलोमिटर। यहाँ पुग्न चाहनेहरूले लिलाराम खड्का (९८४९३०३९२०) र केशर जिरेल (९८१७८८२३३७) लाई सिधै सम्पर्क गर्न सकिन्छ। 

 

प्रकाशित मिति: : 2021-07-02 19:43:00

प्रतिकृया दिनुहोस्