गाउँमा बग्छ नदी

देशसञ्चार

नेपालगञ्ज

कुमार श्रेष्ठ

कैलाशप्रसाद तिवारी (श्रीवास्तव) ले देखाएको यो इनार (कुवा) पहिला गाउँको बीचमा थियो। यो इनारको वरिपरि चार सय घरधुरी थियो। गाउँलेले यही इनारको पानी खान्थे। अहिले यो इनारको पानी खाने कोही छैनन्। न त इनारमा खान लायक पानी नै छ।

राप्ती नदीले धार परिवर्तन गरेर गाउँलाई नदी बनाएपछि चार सय घरधुरीको उठीबास लागेको छ। अलि माथितिर जग्गा भएकाहरु त्यतै घर सारेका छन्। जग्गा नभएकाहरु सामुदायिक वनमा पुगेका छन्।

यो बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५, भगवानपुरको कथा हो। स्थानीय कैलाशप्रसाद तिवारी भन्छन्, ‘२०७१ सालमा राप्ती नदीले धार परिवर्तन गरेपछि गाउँको उठिबास लागेको हो। गाउँमा अहिले राप्ती नदी बग्छ।’

गाउँको बीचमा रहेको दुर्गाप्रसाद श्रीवास्तव, तैयव पठान खाँको घरछेउमै रहेको कुवा अहिले नदी किनारमा परेको छ। श्रीवास्तव र पठानको घरको त्यहाँ नामो निसान छैन।

पहिला नदी गाउँदेखि तीन किलोमिटर टाढा थियो। २०७१ सालमा ठूलो बाढी आउदा नदी गाउँमै आइपुग्यो। नदीले धार परिवर्तन गर्नुमा भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधको कारणले हो भन्छन् श्रीवास्तव। भारतले सन् १९८५ देखि शुरु गरेर १९९० मा राप्ती नदीमा एकतर्फी रुपमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेको छ।

प्रकाशित मिति: : 2021-07-02 12:03:00

प्रतिकृया दिनुहोस्