नेपालको शिक्षा पद्धति: न हाँसको चाल, न त बकुल्लाको

पुरुषोत्तम पोखरेल

 

शिक्षा : हरेक बालबालिकाको पहिलो पाठशाला आफ्नो घर हो भने शिक्षक उनीहरूका अभिभावक हुन्। अझ विशेषगरी आ-आफ्ना सन्तानको पठनपाठन र संस्कार सिकाउने कुरामा बुवाभन्दा आमाको भूमिका महत्त्वपूर्ण रहने गर्छ। शिक्षा कुनै पनि राज्यको आधारभूत आवश्यकताभित्र पर्ने हुँदा हरेक बालबालिकालाई शिक्षा आर्जन गर्न पाउनु उनीहरूको मौलिक तथा नैसर्गिक अधिकार हो।

हरेक नागरिकलाई शिक्षाबाट बञ्चित या भेदभाव गर्न नपाइने तथा शिक्षामा समान पहुँच, समान अवसर र सबैका लागि शिक्षा अत्यावश्यक रहेको कुरालाई राज्यले पनि स्वीकार्दै आएको छ। नेल्सन मन्डेलाका अनुसार शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई चलाएर हामी संसार जित्न सक्छौँ भन्ने कुराबाट शिक्षाको महत्त्व सहजै बुझ्न सकिन्छ। आज हामी सबै २१औँ शताब्दीमा बाँचिरहेका छौँ। व्यक्ति र समाजको भौतिक समृद्धि बढाउनका लागि शिक्षामार्फत मानव सामर्थ्य बढाउन अनिवार्य छ।

विकसित देशहरूमा साक्षरता स्तरबाट त्यस देशको आर्थिक समृद्धिलाई मापन गर्ने भएको हुनाले हामीले पनि युग सुहाउँदो या देशकाल परिस्थिति अनुकूल शिक्षा, सीप, प्रविधि तथा संस्कारको समुचित प्रयोगबाट व्यक्तित्व विकास र समाजलाई ठोस दिशाबोध गराउन सक्ने   वैज्ञानिक मापदण्ड तयार गर्न आवश्यक छ।

वर्तमान शिक्षा नीति : शिक्षाबिना व्यक्तित्व विकास र व्यक्तित्व विकासबिना समाजको विकास सम्भव छैन। कुनै पनि व्यक्ति, समाज र राष्ट्रको प्रगतिका लागि असल शिक्षा आवश्यक हुन्छ तर असल शिक्षा तब हुन्छ, जब शिक्षा प्रणाली चुस्त दुरुस्त र उत्तम हुनेछ।

हाम्रो वर्तमान शिक्षा पद्धतिमा न त स्तरीय ज्ञान छ, न जीवनोपयोगी साधन छ, न मौलिकता झल्काउने चिनारी नै। शिक्षा देशको माटो अनुकुल, अर्थात् आफ्नो भौगोलिक, सामाजिक र आर्थिक परिवेश सुहाउँदो किसिमको हुनुपर्छ। त्यसपछि विश्वको शैक्षिकस्तरसँग प्रतिस्पर्धात्मक बनाउदै जाने वैज्ञानिक शिक्षाले साँचो अर्थमा व्यक्ति, समाज र राष्ट्रलाई समृद्धितर्फ दिशानिर्देश गर्दै जाने हो। हाम्रो शिक्षा पद्धति वैदेशिक शिक्षाको नक्कललाई काँटछाँट गरेर तयार पारिएको आयातीत शिक्षाले समयको बर्बादी, पैसाको नास र प्रयोगविहीन ज्ञान र अन्योलपूर्ण भविष्यले गर्दा हुनेखानेका छोराछोरीहरू आफ्नो सुन्दर भविष्यको खोजीमा भारत, अस्ट्रेलिया, अमेरिका, बेलायत, नर्वे, फिलिपिन्सलगायत देशमा उच्च शिक्षा  हासिल गर्न जानेहरूको तँछाडमछाडले पुष्टि गरिरहेको छ। शिक्षा हासिल गरेर डिग्री लिएकाहरू पनि मुलुकमा अवसर नपाउँदा अन्तत: युवा झोला बोकेर विदेश पलायनको लर्को देख्दा साह्रै पीडाबोध गराएको कटु यथार्थ हो।

प्रकाशित मिति: : 2021-07-02 11:20:00

प्रतिकृया दिनुहोस्