मेयरपछि पूर्वमन्त्री महासेठद्वारा २५ लाख इनामको घोषणा (भिडियोसहित)

विजय साह

जनकपुर

पूर्वमन्त्री रघुवीर महासेठले २५ लाख इनाम दिने घोषणा गरेका छन्। उनले मिथिला नगरपालिकाको कुनै पनि ठाउँमा आफ्नो नाउँमा एक धुर जग्गा पनि भएको प्रमाणित गर्नेलाई २५ लाख रुपैयाँ इनाम दिने घोषणा गरेका हुन्।

पूर्वमन्त्री महासेठ र धनुषाको मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको लालगढमा जग्गा रहेको र आफ्नो जग्गाको मुल्याङ्कनमा बृद्धि हुने उद्देश्यले ढल्केवरमा निर्माण हुने भनिएको ट्रमा सेन्टर लालगढ सार्न लागेको आरोप लागेपछि पूर्वमन्त्री महासेठले त्यसो भनेका हुन्।

पूर्वमन्त्री महासेठले मंगलबार धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरमा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कायक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाभित्रमा आफ्नो नाममा कसैले पनि एक धुर जग्गा सावित वा प्रमाणित गरिदिएमा २५ लाख रुपैयाँ इनाम दिने र आफ्नो सारा सम्पति उसैको नाउँ गरिदिने चुनौती समेत दिए।

यस्तै आरोप मिनपाका नगर प्रमुख महतोमाथि लागेपछि उनले पत्रकार सम्मेलन गरेर लालगढमा आफ्नो जग्गा कसैले प्रमाणि गरिदिए १० लाख रुपैयाँ पुरस्कार दिने बताएका थिए।

क्षीरेश्वरनाथ नगरपालिकामा आफ्नो जग्गा भएपनि मिथिला नगरपालिकाको कुनै पनि ठाउँमा जग्गा नभएको बताउँदै पूर्वमन्त्री महासेठले लालगढमा आफ्नो जग्गाबारे लागेको आरोपको खण्डन गरे। उनले भने विपक्षी पार्टीका साथीहरुसँग जनतामा जाने कुनै मुद्दा नभएपछि यस किसिमको अफवाह फैलाइयो।

सम्बोधनकै क्रममा पूर्वमन्त्री महासेठले ढल्केवरमा आएको ट्रमा सेन्टर आफूले नै पहल गरेर ल्याएको दाबी गरे। जग्गा उपलब्ध भए ढल्केवरमै ट्रमा सेन्टर बन्ने भन्दै जनतालाई न आतिन उनले आग्रह गरे।

ढल्केवरमा ट्रमा सेन्टरको लागि चाहिने जग्गा उपलब्ध नभए अर्को ठाउँमा सार्न सकिने तर पहिलो प्राथमिकता ढल्केवर नै रहेको नेता महासेठको भनाइ थियो। ट्रमा सेन्टर अन्यत्र सार्न लागेको गलत हल्ला फिँजाएर आफूसहित मिनपा नगर प्रमुखलाई बदनाम गर्न खोजिएको प्रति पूर्वमन्त्री महासेठले आपति जनाए।

प्रकाशित मिति: : 2021-06-30 11:42:00

प्रतिकृया दिनुहोस्