अर्धनग्न शरीर। लट्टा परेको कपाल। हातमा दुई चारवटा झोलाका पोका र मैलो खास्टो।
बागलुङ बजारको पसलदेखि घरघरमा माग्दै हिँडेकी थिइन् मनकुमारी। कहिले भित्तासँग एक्लै बोलिरहेकी देखिन्थिन् त कहिले अघिल्तिर पर्ने जो कसैलाई गाली गरिहाल्थिन्। अनुहारमा पोलेको दाग बोकेकी उनी बजारमा धेरैका लागि छोराछोरी तर्साउन बोलाइने 'बहुलाही' बनेकी थिइन्।
फोहोरको थुप्रोमा केही खोजिरहेकी मनकुमारीलाई गाउँलेले देखेपछि पुर्याए खबर – तपाईंकी बहिनीलाई घरबाट निकालिदिएको हो? बजारमा माग्दै हिँडेकी छिन् त…।
माइती जान्छु भनेर घरबाट निस्केकी थिइन् उनी। घरदेखि माइतीसम्मको दुरी पैदलै तय गर्दा एक दिन पूरै लाग्ने। त्यसैले पटकपटक जाने-आउने गर्नु सहज थिएन। तर जहिले जान्थिन् निकै दिन बसेर फर्किन्थिन्। त्यसैले परिवार ढुक्कै थियो, माइतीमै छिन् भन्नेमा। एकाएक बजारमा माग्दै हिँडेको खबरले उनको माइतीलाई अत्यायो। उनका दाजुसहित बजारमा लिन पुगे। फर्कन मानेकी थिइनन् तर लछार्दै पछार्दै पुर्याए घर।
बहिनीको अवस्था देखेर आत्तिएका दाइले उनलाई घर पुर्याए र सिधैं बाँधिदिए आँगन छेउको रुखमा। दुईचार झाप्पु लगाए। र, माइतीबाट आएका सबै फर्किए। तर, कहाँ ठीक हुन्थ्यो र परिस्थिति?