प्रदेश २ का मुख्यमन्त्री राउतले गरे वृक्षारोपण अभियानको शुभारम्भ

विजय साह

जनकपुर

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा वृक्षारोपण अभियानको शुभारम्भ गरेका छन्। सोमबार धनुषाको मिथिला नगरपालिका ४ रतनपुरमा बरको रुख रोपेर मुख्यमन्त्री राउतले यसको शुभारम्भ गरेका हुन्।

प्रदेश २ लाई हरित प्रदेशको रुपमा विकास गर्ने अवधारण अनुरुप प्रदेशको आठवटै जिल्लाको विभिन्न स्थानमा गरी १ लाख ५२ हजार ४ सय विभिन्न प्रजातिका बिरुवा रोपिने मुख्यमन्त्री राउतले बताए।

असार १४ गते पर्न गएको राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपणको अभियान औपचारिक रुपमा शुरुआत गरिएको जनाइएको छ।

मुख्यमन्त्री राउतले वातावरण संरक्षणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै वन र वातावरण संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए।

उनले वृक्ष रोपेर मात्र नहुने बताउँदै यसको संरक्षण पनि आवश्यक रहेको औल्याउँदै प्रदेश सरकारले यो वर्षभित्र प्रदेशका सबै जिल्लामा गरी १ हजार १ सय ३५ हेक्टर क्षेत्रफलमा १४ लाख ६२ हजार बिरुवा रोप्ने योजना लिएको मुख्यमन्त्री राउतले जानकारी दिए।

संघीय सरकारले नेपालको गिटी बालुवा विदेशमा बेच्न अघि सारेको नीतिप्रति मुख्यमन्त्री राउतले आपत्ति जनाए। उनले भने संघीय सरकारले आगो लगाएर आफ्नै घरलाई खरानी बनाउन लागे।

चुरेको गिट्टी बालुवा बेच्ने हो भने कालान्तरमा तराइलाई मरुभूमिकरण हुनबाट कसैले जोगाउन सक्दैन। निश्चित छ यो मरुभूमि बन्छ। तत्काललाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै यसकार्यमा रोक लगाएकाले उनले सर्वोच्च अदालतलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

प्रदेश २ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा.रामचन्द्र कँडेलले प्रदेशको निर्धारित नीति तथा कार्यक्रमका साथै राजनैतिक प्रतिवद्धता अनुरुप विगतका बर्षहरुमा झैं यसपटक पनि राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर साताव्यापी प्रदेश हरित अभियानलाई सञ्चालन गरिएको बताए।

मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले भने जुन रुपले जङ्गलको रुख बिरुवा कटान हुँदैछ, र यसरी नै रहे भने भोलि बाँच्नका लागि पिठ्युँमा अक्सिजनको सिलिण्डर बोकेर हिँड्नु पर्छ। तसर्थ वन जोगाउन एक आपसमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ।

डिभिजन वन कार्यालय धनुषाको आयोजनामा रतनपुरस्थित फुटबल मैदान नजिक ६ हेक्टर जग्गामा ९ हजार ६ सय विभिन्न प्रजातिको रुख विरुवा रोपिएको छ।

वृक्षारोपण कार्यक्रममा सव डिभिजन वन कार्यालय धनुषाका अधिकृत सुनिलकुमार कर्ण, प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, मिथिला नगरपालिकाका वडा नम्बर ४ पुष्पवलपुरका वडा अध्यक्ष बिष्णु खदाल, सव डिभिजन वन कार्यालय धनुषाका अधिकृत सुनिलकुमार कर्ण, प्रदेश २ वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण अभियानी सुरेश शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मालगायत वन कर्मचारी र स्थानीयबासीको उपस्थिति थियो।

प्रकाशित मिति: : 2021-06-28 14:05:00

प्रतिकृया दिनुहोस्