सम्झिएको इष्टुको अनसन र अमरेशको सहयोग

थाहा खबर

काठमाडौँ

प्रदीप नेपाल

राजनीतिमा लागेपछि अनौठा अनौठा कुराहरु भोग्नु पर्दो रहेछ। खास गरेर प्रहरीको निगरानी, सुराकीहरुको पछ्याई। कुनै बेला घटनाहरूका बारेमा सविस्तार कुरा गरौंला। यहाँ चाहिं मन्त्रिपरिषदमै बसेको बेलाको डर पस्किनु परेको घटना पस्किन चाहन्छु म।

शिक्षामन्त्री थिएँ त्यतिबेला म। म फिनल्याण्ड भ्रमणमा गएको बेला यहाँ माओवादी केन्द्रको शिक्षक संगठन (इस्टु)ले विद्यालय बन्द गरेछ। विमानस्थलमै पत्रकारले मलाई सोधे, ‘इस्टुको आन्दोलनलाई कसरी सम्बोधन गर्नुहुन्छ?’

‘आन्दोलनका बारेमा मसँग कुनै जानकारी छैन। सरकारलाई कुनै जानकारी नदिइ उहाँहरुले आन्दोलन शुरु गर्नु भएछ।’

विमानस्थलमा मेरो जवाफ सुनेर इस्टुका साथीहरुले मलाई पेल्ने निर्णय गरेछन्। म पनि सजिलै पग्लिन तयार थिइन। किनभने आन्दोलन गर्नु पूर्व गर्नुपर्ने कुनै पनि कुरो उनीहरुले पुरा गरेका थिएनन्।

एक हप्ते अनसन तन्किने भयो। अनशन पनि मज्जाको थियो। दिनभरि तोकिएको ठाउँमा बस्यो। अनि बेलुका उठेर गयो। यस्तो आन्दोलनलाई ‘रिले’ अनसन भनिँदो रहेछ।

१२ दिनसम्म पनि मैले कुनै वास्ता नगरेपछि उहाँहरुमा फिट् फिटी बढ्दै गएको मन्त्रालयका कर्मचारीले पनि थाहा पाउन थालेछन्।

एक्कासी मञ्चमा आए नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह। उनले भने ‘तपाईंले पुरै बेवास्ता गरको हुनाले माओवादी शिक्षकहरु आत्तिन थालेका छन्। उनीहरु यही निवासमै पनि बस्न तयार छन्। दाइले एकचोटी वार्तामा बोलाइ दिनु पर्‍यो। दाइले सार्वजनिक आह्वान पनि गरिरहनु पर्दैन। अध्यक्षलाई यसो फोन गरिदिनु भए, म सबै कुरो मिलाई दिन्छु।’

‘तपाई कहाँ कांग्रेसको सांसद, इस्टु वालाहरू माओवादी। तपाईले भनेर म किन काम गरुँ, फजिति बेहोर्न।’

‘दाइलाई केही थाहै छैन। मेरो पहुँच कहाँ कहाँ छ भनेर।’ अमरेश कतै फोन गरे आफ्नै मोबाइलबाट।

‘हेर्नुस, मलाई थाहा समेत नदिई गरेको आन्दोलनलाई सार्वजनिक आह्वान गरेर वार्तामा बोलाउन सक्दिन’ भन्नुहुन्छ मन्त्री ज्यु। त्यसैले आन्दोलन स्थगित गर्नुस् आजै। आजै उहाँले तपाईंहरुलाई वार्तामा बोलाउनु हुनेछ। बेलुकाको सात बजेको खबरमा तपाईंहरुको वार्ताको समाचार रेडियो नेपालबाट सुन्न पाउनु हुनेछ।

उताबाट बोलेको केही सुनिएन। उसै पनि मलाई सुन्ने रहर थिएन। इस्टुको आन्दोलन, अमरेश कुमार सिंहको व्यवस्थापन। कतै केही कुरै मिल्दैन। तर त्यसपछि अमरेशको भनाई सुनेपछि म शितांग भएँ।

अमरेशले फोनमा भनेका थिए, ‘तपाईं त्यसको टेन्सन नलिनुस्। भरे नै मेरो प्रचण्डजीसँग कुरो हुँदैछ। तपाईंहरु आफ्नो वक्तव्य दिनुस्। म शिक्षामन्त्री ज्यू समक्ष आजै वार्तामा बोलाउन भन्नेछु। फोनमा उताबाट आएको प्रत्युत्तर मैले सुनिन।

‘अरे शिक्षामन्त्री जी र मेरो बीच राम्रो सम्बन्ध छ। त्यसको चिन्तै नलिनुस्।’

‘भाइ, तपार्इंले त जिम्मै लिनु भयो त।’

‘अरे दाइ, यस्ता सानातिना कुरामा केही अप्ठ्यारो प¥यो भने दाइले मलाई भन्नुहोस् म सबै मिलाइ दिन्छु।’

चिया खाँदै थियौं हामी। अमरकोशको फोन बज्यो।

‘यहाँ हार्ने जित्ने कुरै छैन। आफूलाई थाहै नदिई थालिएका आन्दोलन स्थगित नगरी म कसैलाई वार्तामा बोलाउँदिन भन्नुहुन्छ मन्त्रीज्यू।’

फेरि फोन आयो। मेरो कुनै काम थिएन एकोहोरो कुरा सुन्ने बाहेक।

‘त्यो जिम्मा मेरो भो। मैले मन्त्रीज्यूसँग सोधेरै शिक्षक साथीलाई भनेको हुँ। आज आठ बजे म तपाईलाई भेट्न हिसिला कमरेडको क्वार्टरमा आउँछु।’

प्रकाशित मिति: : 2021-06-28 11:19:00

प्रतिकृया दिनुहोस्