आफ्नै टिपर मुनि भेटियाे चालकको शव

धनुषाको सबैलामा एकजना चालकको शंकास्पद मृत्युको अवस्थामा शव भेटिएको छ।

उदयपुरको कटारी नगरपालिका २ बस्ने २८ वर्षीय बिष्णु भनिने बुद्ध लामाको शव आफैले चलाउने टिपरको चक्काले किचिएको अवस्थामा शनिबार साँझ ६ बजे सबैला नगरपालिका १० लवटोलीमा फेला परेको हो।

मृतकको टाउकोमा टिपरको चक्का र बालुवाले छोपिएको कारण अनुहार देखिएको छैन।

मृतकको पहिचान नभएको र घटना अनुसन्धानकै क्रममा रहेकाले अहिले केही पनि भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेश सिग्देलले टुेपाटीलाई बताए। उनका अनुसार घटना शनिबार साँझ ६ बजेतिर भएकाे हाे।

यता मृतक परिवारले चालक बुद्धको हत्या भएको दावी गरेको छ। टिपर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको हत्या नै भएको मृतकका दाई हरि लामाको भनाइ छ।

घटना हत्याजस्तै देखिएकाले सुक्ष्म अनुसन्धान नगरी शव उठ्न नदिने नेकपा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले बताए।

‘घटनामा टिपर ब्याक गरी किचेर हत्या गरेको जस्तो देखिन्छ। जुन ठाउँमा किचिएर घटना भएको छ, त्यो ठाउँ गाडी फँस्ने ठाउँ नै होइन। अगाडी ट्याक्टरहरु थियो’ कटुवालले भने ‘घटना भएको बखत टिपर चालु अवस्थामा नै थियो। प्रहरी आएर बन्द गरे। टिपरको स्टेरिंगको फिंगर प्रिन्ट गरायो भने घटना आफै छर्लङ्ग हुन्छ। प्रहरीले सुक्ष्म अनुसन्धान नगरेसम्म शव उठाउन दिन्नौं ’ उनले भने।

प्रकाशित मिति: : 2021-06-27 08:22:00

प्रतिकृया दिनुहोस्