कोरोनाले उजाडेको छत

बाह्रखरी

काठमाडौँ

धेरै दिनपछि आज काठमाडौंमा चहकिलो घाम लागेको छ । मौसम सफा छ, आज । करिब एक हप्ता लामो समय रहेको त्यो आकाशको कालो बादल आज फाटेको छ । मानौँ, प्रकृति पनि खुसी छिन् ।

अनि, यो निषेधाज्ञाका बीचमा यो ठूलो खाली सडकको छेउमा उभिएकी छु म । म सुनिरहेकी छु– निषेधाज्ञाको बीचमा आफ्नै रफ्तारमा गुडिरहेका गाडीहरूको आवाज ।

म देखिरहेकी छु– निलो आकाशमा उड्दै गरेको सेतो—कालो धुवाँ । म देखिरहेकी छु– केही थान मान्छेहरूको भिड अनि त्यही भिडमा म सुनिरहेकी छु– निषेधाज्ञालाई प्रभावकारी बनाउन उभिइरहेका सुरक्षाकर्मीहरूका कुरा ।

“आज कस्तो राम्रो दिन है, धेरै दिनपछि बल्ल आकाशले आँखा खोल्यो !”

“त्यही त कस्तो मिठो घाम लागेको । आज राम्रो दिन रहेछ ।”

त्यतिकैमा पछाडिबाट आवाज आयो,

“रचना, ए रचना !”

म झस्किएर पछाडि फर्किएँ । हाम्रो घरबेटी अंकलले बोलाउनुभएको रहेछ । उहाँको हातमा एउटा फूलको माला थियो । माला मेरो हातमा थमाउँदै भन्नुभयो, “ल, अब अन्तिम बिदाइ गर । हामीभित्र जान पाउँदैनौँ रे ! यहीँबाट हेर बुवालाई ।”

बुवालाई ! मेरो मुटु चिसो भएर आयो । अन्तिम बिदाइ मेरो बाबालाई ! म आत्तिएकी थिए । मनमनै छटपटाइरहेकी थिएँ । मैले अझै पनि सोच्न सकिरहेकी थिइनँ, के भइरहेको छ मेरो जीवनमा ! हिजोसम्म त सबै ठिकै थियो । ठूला–ठूला सपनाहरू बोकेका मेरा यी आखाँहरू आज त्रसित थिए । 

प्रकाशित मिति: : 2021-06-26 13:28:00

प्रतिकृया दिनुहोस्