पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा, सचेत रहन आग्रह

Symbolic photo
Symbolic photo

मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ।

मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनु पर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ”, उनले बताइन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण जमीन गलिसकेको र विगतमा बाढी पहिरो गएको तथा भूकम्पले क्षति पु-याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या ननिम्तिए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्न सक्ने हुँदा सावधानी अपनाउनु पर्नेछ।

अहिलेको समयमा असारे काम गर्न भने निकै सहयोग पुग्ने जनाइएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाइएको छ।रासस

प्रकाशित मिति: : 2021-06-26 11:46:00

प्रतिकृया दिनुहोस्