चन्द्र घिमिरे
त्यो दिन । दिउँसो सवा बाह्र बजे । चर्को घाम चौकीदारी गर्दैथियो । मैले एकाएक चिण्डे डाँडा हान्ने भएँ, एकल फौज लिएर ।
धराने ‘सर्दुखोला’ पारि बज्रासन गरिरहेको त्यो मुडुलो डाँडा । हिंड्दाहिंड्दै सुनिललाई मोबाइल लगाएँ । ऊ कट्टु लगाउन थालेदेखिको मेरो दोस्त । मलाई साथ दिन लुसुक्क बाटामा निस्कियो । एकलबाट दुकल भो अब मेरो फौज । जनपथको सिरानतिरबाट यो दुकल फौज सर्दु झर्यो । मान्छे हत्तपत्त हिंड्न नरुचाउने दुर्गम बाटो समाएछौं । देख्यौं, भुइँभरि बग्रेल्ती इन्जेक्शनहरू । एकान्तको लाभ दुव्र्यसनीले लिएको संकेत सुनिलले नगर्दै मैले कुरो बुझिसकेथें ।
सर्दुभित्र बस्तीहरू ! खोइ सर्दुखोला ? खोइ सर्दुको खाइलाग्दो त्यो जीउज्यान ? धरान बीचोबीच भएर बहने साँघुरो खहरे खोला र धरानलाई बाइपास गरेर बग्ने सर्दुबीच के रहृयो भेद ? सुनिलले मेरो प्रश्नको मुसलधारे बलिङ फर्काएन ।
उसको अनुहार पुलुक्क चियाएँ । नबोली ऊ भनिरहेथ्यो- ‘सुकुम्बासीका नाउँमा बस्ने हुकुम्बासी छन् यहाँ ।’
आफ्नै जमीन मिचिएर सुकुम्बासी भएको सर्दुखोला यतिखेर रुँदै बगिरहेछ, अहिलेको धरानमा ।
जीवनको आधाउधी विकेट गुमाएपछि यसपालि सर्दुखोला छिर्न भ्याएको रहेछु । मैले छाडेको अतीतलाई चियाएँ । कमसेकम पैंतालीस-छयालीस वर्षअघि म यो खोलामा पहिलोपल्ट घुसपैठ गरेको हुँला । ती दिनहरूमा हामी रातामकै थियौं । बदमासीका सफल-असफल परीक्षण यसै खोलामा गर्न भ्याएका थियौं । फट्याइँको एकसेएक रेकर्ड बनाउने आँट यसै खोलामा गरेका थियौं ।