अलि ठूला व्यवसाय गर्नेले त व्यवसाय नभएका बेलाका लागि भनेर सञ्चित गरेर केही पैसा राखेका हुन सक्लान्। तर जसले दैनिक कमाएर दिनको गुजारा चलाउनु पर्छ, तिनीहरूले भने अहिले आफैलाई ‘फुटेको कर्म’ भन्दै सराप्ने गरेका छन्।
यति लामो भयो बन्दाबन्दीको अवस्था आएको। तर अहिले उनीहरू प्रश्न गर्ने गरेका छन्, ‘सरकारै सरकार भएको देशमा हाम्रा लागि सरकार कहाँ छ?’
साँच्चै दैनिक ज्याला मजदुरी गरेर दैनिकी चलाउनेहरूले त्यस्तो प्रश्न उठाउनु जायज पनि छ। कोरोना भाइरसको पहिलो लहरका बेला राहत वितरणको ‘रवाफ’ देखाएका सरकारका रवाफ सकिएकै हो?
तिनै मजदुरी वा दैनिक १०/२० रुपैयाँ संकलन गरि कमाएर दैनिकी चलाउने अटोरिक्सा चालकको अवस्था दिनदिनै दयनीय बन्दैछ, तर उनीहरूका लागि सरकार छैन। छ त केवल साहु दिनहुँको साँवा नभए पनि ब्याजको ताकेता। तर, उनीहरूसँग अहिले खाएर भरे के खाने भन्ने चिन्ता छ, ब्याज कसरी तिर्लान्?
एउटा सानो झुप्रो घर छेउमा पालले छोपेर थन्काइएका २ वटा अटो रिक्सा छन् । विगत २ महिना यता ती अटोरिक्सा घरबाट बाहिर निस्कन पाएका छैनन्।
अटोरिक्सा थन्किएजस्तै चारजना सदस्य रहेको एक मजदुर परिवारको कयौँ सपना यसैगरि थन्किएका छन् । अटो चलाएकै भरमा घरखर्च जुटाउँदै आएका उनीहरुलाई अहिले अटो थन्किएपछि घरखर्च जुटाउन निकै धौधौ परेको छ ।