अफगानिस्तानको पछिल्लो बिग्रदाे अवस्थाप्रति कुटनीतिज्ञहरुद्वारा चिन्ता व्यक्त

Photo : indianexpress.com
Photo : indianexpress.com

अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ठ कुटनीतिज्ञहरूले चासो व्यक्त गरेका छन्।

उनीहरूले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरेका छन्।

अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ।

संयुक्तराज्य अमेरिका र नेटोले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ सैनिक फिर्ता लैजाने घोषणा गरेसँगै परिस्थिति थप जटिल बनेको छ।

अन्तर–अफगान मध्यस्थता वार्तामा प्रगति हुनुको साटो अझ जटिलता थपिएको छ। सुरक्षा अवस्थामा पनि निरन्तर खस्किदो अवस्थामा छ भने आर्थिक तथा मानवीय अवस्था कमजोर हुँदै गएको छ, राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले बताए।

सुरक्षा परिषद बैठकमा सम्बोधन गर्दै श्री झाङले भने, “चीनले यस अवस्थाका बारेमा गहिरो चासो व्यक्त गर्दछ। अफगानिस्तानको वर्तमान अवस्था सिर्जना भइरहेका कारणका बारेमा हामीले निकै ध्यानपूर्वक विचार गर्नु आवश्यक छ। अफगानिस्तानमा दिगो स्थायित्व हासिल गर्न सबै पक्षले ध्यान दिनु आवश्यक छ।”

'अफगानिस्तानको भविष्य अफगानी जनताकै हातमा छ र भावी राजनीतिक व्यवस्थाका बारेमा पनि स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार अफगानी जनतालाई नै दिनु पर्दछ', उनले भने।

अन्तर्राष्ट्रिय समुदायले अफगानी नेतृत्व र अफगानी जनताकै स्वामित्वको सिद्धान्तबाट अघि बढ्नुपर्ने बताउँदै उनले अफगानिस्तानमा शान्ति प्रक्रियालार्य स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउनु पर्ने बताए।

प्रकाशित मिति: : 2021-06-24 05:56:00

प्रतिकृया दिनुहोस्