‘प्रधानन्यायाधीशको आदेशले भएको क्षति नाप्ने यन्त्र छैन, नेता जोगाउनुपर्ने चुनौती छ’

नेपाल खबर

काठमाडाैं

मन्त्रीहरुलाई पदमुक्त गर्ने सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह र नेकपा एमालेबीचको गठबन्धन संकटमा परेको छ।

पार्टी नै विभाजन गराएर केपी ओली सरकारमा सहभागी भएको सो समूह मंगलबारको आदेशपछि राजनीतिक विलखबन्दमा परेको छ। जसपाका ११ मन्त्री पदमुक्त भएका छन्।

एमालेसँगको गठबन्धनको भविष्य र ओलीले पुरा गर्ने वचन दिएको मागबारे के हुन्छ, सो समूह अन्यौलमा छ।

ठाकुरले मन्त्री बनाउने आश्वासन दिएर उपेन्द्र यादव पक्षका केही नेतालाई आफूतिर तानेका थिए। सर्वाेच्चको फैसलालगत्तै उनीहरुलाई जोगाउने चुनौती आइपरेको नेता सर्वेन्द्रनाथ शुक्लाले बताए।

ठाकुर पक्षका नेताहरुको प्रधानमन्त्री ओलीसँग परामर्श गरिरहेको तर ठोस निष्कर्ष निकाल्न नसकेको शुक्लाले बताए।

‘सर्वाेच्चको फैसलाले निकै ठूलो क्षति पुर्‍याएको छ,’ शुक्लाले भने, ‘आगामी दिन कसरी अघि बढ्ने विषयमा छलफल चलिरहे पनि सबै कुरा प्रष्ट भएको छैन।’

अदालतको पछिल्लो आदेशले उत्पन्न राजनीतिक परिस्थितिबारे भोलि पार्टीभित्र छलफल गर्न लागेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनी एमालेसँगको गठबन्धन अझै कायम रहने दाबी गर्छन्।

प्रकाशित मिति: : 2021-06-23 20:25:00

प्रतिकृया दिनुहोस्